सोलुखुम्बूको फेरिचे हेलिप्याडमा अवतरण गर्ने क्रममा दुईवटा हेलिकप्टर आपसमा ठोक्किएर भएको दुर्घटनामा घाइते भएका तीनै जनाको स्वास्थ्य अवस्था स्थिर रहेको छ। घाइतेहरूको काठमाडौंस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनामा फिस्टेल एयरका पाइलट रवीन्द्र प्रजापति, एयर डाइनेस्टीका पाइलट प्रज्ज्वल केसी र न्यूजील्याण्डका नागरिक शैलेश किसन पटेल घाइते भएका थिए। उनीहरूलाई प्रभु हेलिकप्टरमार्फत उपचारका लागि नेपाल मेडिसिटी अस्पताल ल्याइएको थियो।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राज राणाका अनुसार अस्पताल ल्याइए लगत्तै घाइतेहरूको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा आवश्यक चिकित्सकीय मूल्याङ्कन गरिएको थियो। परीक्षणपछि तीनै जनाको अवस्था स्थिर र खतरामुक्त रहेको अस्पतालले जनाएको छ।
अस्पतालले घाइतेहरूको स्वास्थ्य अवस्थाअनुसार थप परीक्षण, उपचार तथा निरन्तर निगरानी गरिने जानकारी दिएको छ। दुर्घटनापछि घाइतेहरूको अवस्थाबारे चासो बढिरहेका बेला अस्पतालको यो जानकारीले केही राहत दिएको छ।
