मुम्बई। बलिउडका चर्चित अभिनेता टाइगर श्राफको कारमाथि गोली प्रहार भएको घटनामा भारतीय प्रहरीको अनुसन्धानबाट नयाँ तथ्य बाहिर आएको छ । आक्रमण गर्नुअघि आरोपित समूहले मुम्बई छेउछाउमै हतियार चलाउने अभ्यास गरेको खुलेको हो । प्रहरीका अनुसार अन्धेरीस्थित एउटा होटलको कोठामा समेत हतियार परीक्षण गर्दा गोली ओछ्यानमा लागेको थियो ।
यस प्रकरणमा अहिलेसम्म तीन राज्यबाट १० जना आरोपित पक्राउ परेका छन् । पक्राउ पर्नेमा हरियाणाका सात, उत्तर प्रदेशका दुई महिला र बिहारका एक युवा छन् । आक्रमणमा प्रयोग गरिएका हतियार अमृतसरबाट रेलमार्फत मुम्बई ल्याइएको अनुसन्धानले देखाएको छ । दिल्लीबाट समातिएका चार जनालाई अक्टोबर २६ सम्म हिरासतमा राख्न मुम्बई अदालतले अनुमति दिएको छ भने कोटाबाट पक्राउ परेका तीन सुटर अक्टोबर ३१ सम्म हिरासतमा छन् ।
मुम्बई प्रहरीको अदालतमा पेस भएको विवरणअनुसार लरेन्स बिश्नोई गिरोहसँग सम्बद्ध भनिएका अनिल पण्डितको निर्देशनमा गोली चलाइएको आरोप छ । हरियाणाको पानीपतका स्थायी बासिन्दा पण्डित हाल अमेरिकामा बसिरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कुणाल र सुमितले अमृतसरबाट हतियार ल्याएपछि इन्क्रिप्टेड एपमार्फत पण्डितसँग सम्पर्क गरेका थिए । कुणालले आफ्नी प्रेमिका राधामार्फत पेस्तोल र २० राउन्ड गोली मुम्बई पुर्याएका थिए । अक्टोबर १५ मा राधा र बबिता नयाँदिल्ली रेलवे स्टेसन पुगेका थिए र अक्टोबर १७ मा मुम्बईको दादर स्टेसन ओर्लेर होटलमा बसेका थिए । त्यहाँ अर्का आरोपितले हतियार राखिएको झोला लगेपछि दुवै जना रेलबाट दिल्ली फर्किएका थिए ।
यद्यपि पक्राउ परेका महिलाका परिवारले भने दाबी अस्वीकार गरेका छन् । राधाकी आमाले उनीहरू हरियाणामा रोजगारी गर्दै आएको र धार्मिक स्थलको दर्शन तथा मन्नत पूरा गर्न मुम्बई गएको बताएकी छन् ।
अक्टोबर १८ को साँझ मुम्बईको जुहूमा रहेको फुटबल क्लबबाट निस्किँदै गर्दा टाइगर श्राफको कारमा ६ देखि ७ राउन्ड गोली प्रहार भएको थियो । घटनामा अभिनेता सुरक्षित रहे पनि उनका चालक र उमेश चौहान नामका एक ब्लगर घाइते भएका थिए । घाइते चौहानको शरीरबाट गोली निकाल्न बुधबार केईएम अस्पतालमा शल्यक्रिया गरिएको थियो । बृहन्मुम्बई महानगरपालिकाका अनुसार उनको अवस्था अहिले स्थिर छ ।
