ताइयुआन। चीनले नयाँ रिमोट सेन्सिङ स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण गरेको छ।
शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तमा रहेको ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट ‘याओगान–५० ०३’ नामक उपग्रह अन्तरिक्षमा पठाइएको हो। यसलाई परिमार्जित ‘लङ मार्च–६’ रकेटको सहयोगमा उडाइएको थियो। प्रक्षेपणपछि स्याटेलाइटले तोकिएको कक्षमा सफलतापूर्वक प्रवेश गरेको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।
चिनियाँ अधिकारीहरूका अनुसार यो प्रक्षेपण अभियान पूर्ण रूपमा सफल भएको छ। उक्त स्याटेलाइटलाई मुख्यतः भूमि सर्वेक्षण, बाली उत्पादनको अनुमान तथा विपद् रोकथाम र राहतसम्बन्धी काममा प्रयोग गरिने बताइएको छ।
रिमोट सेन्सिङ स्याटेलाइटले अन्तरिक्षबाट पृथ्वीको सतहसम्बन्धी तथ्याङ्क सङ्कलन गर्न सक्छन्। यस्ता उपग्रहबाट प्राप्त जानकारी भूमि व्यवस्थापन, कृषि अनुगमन, प्राकृतिक विपद्को आकलन तथा राहत कार्यको योजना बनाउन उपयोगी मानिन्छ। यो प्रक्षेपण चीनको ‘लङ मार्च’ रकेट शृङ्खलाको ६ सय ७२औँ उडान अभियान हो।
