गुल्मी — गाउँघरमा बसाइँसराइ बढेसँगै खेतबारी बाँझिँदै गएका छन्। रोजगारी खोज्दै युवापुस्ता विदेशिने क्रम पनि उस्तै छ। तर छत्रकोट गाउँपालिका–२, ग्वाघाकी ५२ वर्षीया लक्ष्मी महत्राले भने अरूले छाडेका बाँझो जग्गालाई आम्दानीको स्रोत बनाएकी छन्।
महत्राले विगत पाँच वर्षदेखि व्यावसायिक रूपमा सयपत्री फूलको खेती गर्दै आएकी छन्। स्थानीयको सहमतिमा उनले तीन रोपनी बाँझो जग्गा पाँच हजार रुपैयाँमा भाडामा लिइन्। भारतको गोरखपुरबाट ८० हजार रुपैयाँको बीउ ल्याएर सुरु गरेको उनको व्यवसाय अहिले गाउँकै लागि कृषि उद्यमको राम्रो उदाहरण बनेको छ।
बलेटक्सारस्थित पैंचो पसलले उनले उत्पादन गरेका सबै फूल खरिद गर्दै आएको छ। पसलले थोकमा प्रतिकिलो २२० रुपैयाँका दरले १५ क्वीन्टल फूल लगिसकेको छ। खुद्रा मूल्य प्रतिकिलो २५० रुपैयाँ छ। गत वर्ष उनले तीन लाख ५० हजार रुपैयाँको फूल बिक्री गरेकी थिइन्। यस वर्ष उत्पादन राम्रो भएकाले फूलबाट मात्र तीन लाख ९६ हजार रुपैयाँ आम्दानी हुने देखिएको छ। स्थानीयको मागअनुसार उनले तिहारका लागि थप तीन क्वीन्टल फूल राखिदिएकी छन्।
सयपत्री रोपेको करिब ९० दिनमा उत्पादन लिन सकिन्छ। बिरुवा तयार गरी रोपेपछि नियमित मल, पानी र स्याहार गर्न सके राम्रो उत्पादन लिन सकिने उनको अनुभव छ।
अन्य बालीको तुलनामा फूलखेतीमा जोखिम कम र आम्दानी राम्रो हुने उनले बताइन्। बाँदरले क्षति नगर्ने र फूल चाँडै कुहिएर नजाने भएकाले यसप्रति आकर्षण बढेको हो। डढेलो लाग्ने, मुन्टा मर्ने तथा किरा र पुतलीको प्रकोप देखिए पनि समयमै मलजल, भिटामिन र औषधि प्रयोग गरेर नियन्त्रण गर्न सकिने उनको भनाइ छ।
ढकमक्क फुलेको फूलबारीले गाउँको आकर्षण पनि बढाएको छ। उनको व्यवसायमा श्रीमान् र छोराबुहारीले पनि सघाउँदै आएका छन्। गाउँमै बसेर मेहनत गर्न सके आत्मनिर्भर बन्न सकिने महत्राको विश्वास छ।
