काठमाडौं । बाढीपहिरोको सम्भावना रहेका स्थानमा सोचविचार नगरी बेलिब्रिज हाल्नु खतरनाक हुने सडक विभागले चेतावनी दिएको छ । विभागका महानिर्देशक डा. विजय जैसीले अस्थायी पुलको व्यवस्थापनमा हतार गर्न नहुने बताएका छन् ।
हिमालमा जलवायु परिवर्तनको असर तथा भोटेकोशी–त्रिशूली क्षेत्रमा भएको विपद्बारे छलफल गर्न गठित संसदीय विशेष समितिको बैठकमा उनले बेलिब्रिजसम्बन्धी प्राविधिक चुनौतीबारे जानकारी गराएका हुन् । धेरै ठाउँमा नयाँ बेलिब्रिज हाल्नुभन्दा पहिलेदेखि रहेका पुलका प्रवेश सडक सुधार गर्नु नै दीर्घकालीन रूपमा सुरक्षित हुने उनको भनाइ छ । त्यसो नगरे वर्षायामको बाढीले संरचना बगाउने जोखिम रहने उनले बताए ।
बेलिब्रिज निर्माणका लागि बलियो जग आवश्यक पर्ने र त्यसको सुरक्षामा उच्च प्राविधिक सतर्कता अपनाउनुपर्ने उनले स्पष्ट पारे । रसुवागढी नाकाको प्रसंग उठाउँदै उनले बेलिब्रिज बनाउन ठूलो खर्च र लामो समय लाग्ने, अनि वर्षा सुरु हुनुअघि नै त्यस्ता अस्थायी संरचना हटाउनुपर्ने बाध्यताले थप आर्थिक भार र प्राविधिक जटिलता सिर्जना गर्ने बताए ।
विभागले नियम र बजेटको सुनिश्चितता नहुँदा पनि आपत्कालीन अवस्थामा काम गरिरहेको उनले बताए । बजेट अभावकै बीच मालढुङ्गा र आरुघाट पुलको समस्या समाधान गरिएको उल्लेख गर्दै उनले बेलिब्रिज हाल्ने निर्णयसँगै आउन सक्ने सम्भावित विपद्को जिम्मेवारी पनि लिनुपर्ने धारणा राखे ।
