बाढीले क्षति पुर्याएको विपी राजमार्गको पुनःनिर्माणले गति लिएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले सिन्धुलीको बर्खेखोला–पिप्ले खण्डमा काम थालेको छ। यो खण्डका लागि जाइकासँग दुई अर्ब ६० करोड रुपैयाँको सम्झौता भएको भक्तपुरस्थित डिभिजन सडक कार्यालयले जनाएको छ।
कार्यालयका प्रमुख सुमन योगेशका अनुसार पिप्लेदेखि भकुण्डेबेँशीसम्मको खण्डमा हालसम्म ५२ प्रतिशत भौतिक प्रगति भएको छ। आगामी वर्षायामअघि नै निर्माणाधीन तीनवटै खण्डमा एक तह कालोपत्रे गर्ने तयारी भइरहेको छ। क्षतिग्रस्त सडकलाई डेडिकेटेड डबल लेनका रूपमा पुनःनिर्माण गरिँदैछ।
काभ्रेपलाञ्चोकतर्फको २५ दशमलव ११ किलोमिटर सडक तीन खण्डमा बाँडेर काम भइरहेको छ। पिप्ले–डालाबेँशी (२.३ किमी) खण्ड उमा एण्ड कम्पनी–भण्डारी जेभीले ६८ करोड ८० लाखमा २०८४ कात्तिक २६ गतेभित्र, डालाबेँशी–चारसयबेँशी (८.५ किमी) खानी–एवान–कमलजीत जेभीले एक अर्ब ४२ करोडमा २०८४ जेठ मसान्तसम्म र चारसयबेँशी–भकुण्डेबेँशी (११.८ किमी) लामा–नवकान्तिपुर जेभीले एक अर्ब ३३ करोडमा २०८४ असार १७ गतेभित्र सम्पन्न गर्ने लक्ष्य छ।
विसं २०८१ असोजको दोस्रो साता रोशी खोलाको बाढीले दाप्चाखोला १ नं पुलदेखि नेपालथोकसम्म २९ किलोमिटर सडक पूर्ण रूपमा क्षति भएको थियो। पुनःनिर्माणका लागि सरकारले कुल आठ अर्ब ५० करोड रुपैयाँको स्रोत सहमति दिएको छ। पाँचवटा पुललाई दुई लेनमा परिणत गर्ने र तीनवटै खण्डमा ६ दशमलव तीन किलोमिटर आरसीसी पर्खाल निर्माण गर्ने योजना छ।
हाल पुनःनिर्मित सडकबाटै सवारी आवागमन गराइएको छ। साँघुरो स्थानमा डाइभर्सन बनाएर दुईतर्फी आवागमन गराइएको छ भने वर्षाले सडक अवरुद्ध भए आधादेखि केही घण्टामै खुलाउने गरी सामग्री व्यवस्थापन गरिएको छ। जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/०५४ देखि निर्माण सुरु भएको धुलिखेल–सिन्धुली–बर्दिबासको एक सय ६० किलोमिटर लामो यो राजमार्ग विसं २०७२ असार १८ गते जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो।
