चितवन — भारतीय बजारलाई केन्द्रित गरी नेपाल–भारतबीच पर्यटन सहकार्य अघि बढाउने उद्देश्यका साथ कात्तिक ९ देखि ११ गतेसम्म चितवनमा ‘नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६’ आयोजना हुने भएको छ।
गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् र समृद्ध चितवन अभियानले संयुक्त रूपमा आयोजना गर्न लागेको यो कार्यक्रमको नारा ‘सीमा जोड्दै, मित्रता बढाउँदै पर्यटन प्रवर्द्धन गर्दै’ राखिएको छ। कार्यक्रम संयोजक एवं एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रवक्ता सोमनाथ सापकोटाले भारतीय पर्यटन बजारमा नेपालको उपस्थिति बलियो बनाउन व्यवसायी स्तरमै प्रत्यक्ष सम्बन्ध आवश्यक रहेको बताए।
‘नेपालको पर्यटन प्रवर्द्धन केवल प्रचार सामग्री बाँडेर मात्र सम्भव हुँदैन,’ उनले भने, ‘भारतीय पर्यटन व्यवसायीलाई नेपालका गन्तव्यमा प्रत्यक्ष ल्याउने, होटल तथा रिसोर्ट सञ्चालकसँग भेट गराउने र सेवा-सुविधाबारे जानकारी दिने काम आवश्यक छ।’
कार्यक्रममा भारतका विभिन्न सहरका २१ जना पर्यटन व्यवसायी तथा प्रतिनिधिहरू सहभागी हुनेछन्। उनीहरूले नेपाली पर्यटन व्यवसायी, होटल तथा रिसोर्ट सञ्चालक र स्थानीय सरोकारवालासँग प्रत्यक्ष भेटघाट तथा छलफल गर्ने बताइएको छ।
कार्यक्रममा व्यावसायिक भेटघाट, परिचयात्मक भ्रमण, पर्यटन प्याकेज निर्माण र आगामी दिनमा नियमित पर्यटक आवागमन बढाउने सम्भावनाबारे छलफल हुनेछ। सापकोटाका अनुसार लुम्बिनी, रामग्राम, देवघाट, नवलपुर र चितवनलाई एउटै पर्यटन सर्किटमा जोड्ने लक्ष्य लिइएको छ।
विशेषगरी भरतपुर महानगरपालिका, कपिलवस्तु नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका र रामग्राम नगरपालिकालगायतका क्षेत्रलाई पर्यटन सञ्जालमा आबद्ध गर्दै क्षेत्रीय पर्यटन सहकार्य विस्तार गर्न सकिने उनको भनाइ छ।
धार्मिक, आध्यात्मिक, सांस्कृतिक, प्राकृतिक, वन्यजन्तु तथा साहसिक पर्यटनका क्षेत्रमा भारतीय पर्यटकलाई नेपालका गन्तव्यसँग जोड्न सके ठूलो सम्भावना सिर्जना हुने उनले बताए।
