तनहुँको भिमाद नगरपालिकाले आयोजना गरेको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा दशौँ मेयर कप प्रतियोगितामा जनज्योति माध्यमिक विद्यालयले उपाधि जितेको छ। शनिबार सम्पन्न प्रतियोगितामा जनज्योति माविले १३ स्वर्ण, एक रजत र एक कास्य गरी कुल १५ पदक जित्दै पहिलो स्थान हासिल गर्यो।
पदक तालिकामा बालशैक्षणिक माध्यमिक विद्यालय दुई स्वर्ण, नौ रजत र तीन कास्य गरी १४ पदकसहित दोस्रो भयो। माउन्ट अन्नपूर्ण बोर्डिङ स्कुल र मङ्गलोदय माध्यमिक विद्यालयले समान १०–१० पदक जिते। माउन्ट अन्नपूर्णले दुई स्वर्ण, तीन रजत र पाँच कास्य जित्दा मङ्गलोदयले तीन स्वर्ण, एक रजत र छ कास्य जित्यो। अरुणोदय माध्यमिक विद्यालयले सात पदक जित्यो।
त्यस्तै धर्म माध्यमिक विद्यालयले छ, हिमालय माध्यमिक विद्यालय र भिम मेमोरियल बोर्डिङ स्कुलले पाँच–पाँच, अमर भूपू सैनिक बोर्डिङ स्कुल र सिद्धार्थ माध्यमिक विद्यालयले चार–चार तथा शङ्कर माध्यमिक विद्यालयले तीन पदक जिते।
नगरपालिकाका खेलकुद तथा शिक्षा शाखा प्रमुख सन्दीप पौडेलका अनुसार प्रतियोगितामा नगरपालिकाभित्रका विभिन्न विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए। नगरप्रमुख दधिराज सुवेदीले विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्ने र विद्यार्थीको शारीरिक तथा मानसिक विकासमा खेलकुदको भूमिका बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए।
