मकवानपुरको भीमफेदीमा आइतबार दिउँसो भाडाको इलेक्ट्रिक भ्यान दुर्घटनामा परेको छ । दुर्घटनामा ११ जना यात्रु घाइते भएका छन् ।
भीमफेदी गाउँपालिका–१ बाद्रेभीरस्थित हेटौँडा–भैँसे सडकखण्डमा काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ज ०६७४ नम्बरको ईभी गाडी सडकको दायाँतर्फको भित्तामा ठोक्किएर बायाँतर्फको नालामा खसेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये रौतहट दुर्गा भगवती गाउँपालिका–१ पिपराटोलका ५० वर्षीय हरि साहको अवस्था गम्भीर छ । उनीसहित उनकी २६ वर्षीया छोरी चन्दा कुमारी साह, २३ वर्षीया छोरी शिवा कुमारी साह, पाँच वर्षीय नाति आर्यन साह र परिवारका अन्य सदस्य थप उपचारका लागि चितवनस्थित सीएमसी अस्पताल लगिएका छन् ।
अन्य घाइतेमा रौतहट दुर्गा भगवती गाउँपालिका–१ का ३२ वर्षीय राजेश साह, भारतको बिहारस्थित मोतिहारी जिल्लाका ३४ वर्षीय सर्फे आलम, रौतहट चन्द्रपुर नगरपालिका–११ पडरियाटोलकी २४ वर्षीया सबिता कुमारी चौधरी, यमुनामाई गाउँपालिका–४ का १९ वर्षीय राहुल ठाकुर र धमनीमाई नगरपालिका–४ का १६ वर्षीय विजय कुमार ठाकुर रहेका छन् ।
घाइतेहरूलाई सुरुमा हेटौँडा अस्पताल लगिएको थियो । राजेश साहको बायाँ खुट्टा, सर्फे आलमको नाक र बायाँ काँध, सबिता कुमारी चौधरीको बायाँ कोखा, राहुल ठाकुरको मुख तथा विजय कुमार ठाकुरको टाउको र दायाँ खुट्टामा चोट लागेको छ ।
दुर्घटनापछि चालक फरार रहेका छन् र प्रहरीले उनको खोजी गरिरहेको छ । गाडी घटनास्थलमै रहेको र गाडीधनी शिवकान्त झासँग प्रहरीले सम्पर्क गरेको छ । दुर्घटनाका कारण सडक भने अवरुद्ध नभएको प्रहरीले जनाएको छ ।
