नेपाली धाविका रशिला तामाङले अन्तर्राष्ट्रिय ट्रेल दौडमा ऐतिहासिक सफलता हात पारेकी छिन्। भुटानमा शुक्रबार सम्पन्न ४२ किलोमिटर लामो कोलोन ट्रेल रनको महिला वर्गमा उनी पहिलो स्थानमा पुगिन्। उनले कठिन पहाडी बाटो ७ घण्टा ११ मिनेट २६ सेकेन्डमा पार गरिन्।
दौड सुरु भएदेखि नै पानी परिरहेको थियो भने मार्गका केही खण्ड हिउँले ढाकिएका थिए। सहभागीले झन्डै एक घण्टासम्म हिउँमाथि दौडनुपरेको थियो। तीन हजार पाँच सय मिटर र चार हजार मिटर उचाइका दुई प्रमुख विन्दु पार गर्नुपर्ने यो दौडमा रशिलाले प्रतिकूल मौसम र उकालो–ओरालोको कठिनाइलाई पछि पार्दै अग्रता कायम राखिन्।
बेल्जियमकी भान्या नप्स ७ घण्टा १८ मिनेट १७ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो भइन् भने भुटानकी सांगे छोदेन तेस्रो स्थानमा रहिन्।
इन्टरनेसनल ट्रेल रनिङ एसोसिएसन र युटिएमबी दुवैले मान्यता दिएको यस प्रतियोगितामा २७ देशका १५२ धावक सहभागी थिए। सहभागीको सहनशीलता र मानसिक दृढताको कडा परीक्षा लिने यो दौडमा रशिलाले भुटानमा प्रतिस्पर्धा गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्दै आयोजकको व्यवस्थापनको प्रशंसा गरेकी छिन्।
पुरुषतर्फ इटालीका रिकार्डो मोन्तानी ५ घण्टा २३ मिनेट ५२ सेकेन्डमा विजेता बने। भुटानका ग्येम तेन्जिन दोस्रो र छिरिङ ग्याल्चेन तेस्रो भए।
