लगातारको वर्षाका कारण नेपाल प्रिमियर लिगको तेस्रो संस्करणअन्तर्गत शनिबार हुने भनिएको लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल स्थगित भएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान वर्षाले भिजेर खेल्न नमिल्ने भएपछि आयोजकले खेल रद्द गर्ने निर्णय गरेको हो।
नेपाल क्रिकेट संघका सचिव पारस खड्काका अनुसार बिहीबार रातिदेखि निरन्तर परेको पानीले मैदान पूर्ण रूपमा भिजेको छ। खेल स्थगित भएपछि लुम्बिनी र चितवनले एक–एक अङ्क बाँडेका छन्।
शनिबारकै दोस्रो खेलमा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने तालिका छ। उक्त खेल अपराह्न ५ बजेदेखि सुरु हुने भनिए पनि निरन्तरको वर्षाले त्यसलाई समेत असर पार्न सक्ने सम्भावना छ। गत कात्तिक ९ गतेदेखि सुरु भएको एनपीएल आगामी मङ्सिर ५ गतेसम्म चल्नेछ।
