जर्मनीमा बढ्दो महँगी, शिक्षा क्षेत्रमा बजेट कटौती र अनिवार्य सैन्य सेवाको विरोधमा भएको प्रदर्शन हिंसात्मक बनेको छ। देशका विभिन्न सहरमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा शनिबार राति फ्र्याङ्कफर्टमा पसलहरू लुटिएका छन्।
फ्र्याङ्कफर्टसहित बर्लिन, कोलोन र ह्याम्बर्गमा हिंसात्मक घटना भएका छन्। प्रदर्शनकारीले प्रहरी तथा आपत्कालीन सेवाका कर्मचारीमाथि आगोको राँको, ढुंगा र बोतल प्रहार गरेपछि प्रहरीले पानीको फोहोरा प्रयोग गरेर उनीहरूलाई तितरबितर पारेको थियो।
‘जेन जेड रेगेल्ट’ नामक अभियान समूहको आह्वानमा हजारौँ युवा प्रदर्शनमा सहभागी भएका थिए। उनीहरूले शिक्षा क्षेत्रमा अपर्याप्त बजेट, सामाजिक सेवामा कटौती, बढ्दो जीवनयापन खर्च र अनिवार्य सैन्य सेवाको विरोध गरेका थिए। दिनभर प्रदर्शन शान्तिपूर्ण रहे पनि राति हिंसात्मक घटना भएका हुन्।
फ्र्याङ्कफर्ट प्रहरीले एक्समार्फत सहरको केन्द्रमा हिंसात्मक दंगा भइरहेको जनाएको थियो। प्रहरीका अनुसार प्रदर्शनकारीले धेरै पसलका सिसा फुटाएका थिए भने आपत्कालीन सेवाका कर्मचारीमाथि पेट्रोल बमसमेत प्रहार गरेका थिए। हतियार बिक्री गर्ने पसलको सिसा फुटाइएको र एक संदिग्धलाई पक्राउ गरी दुईवटा हतियार बरामद गरिएको प्रहरीले जनाएको छ।
हेसे राज्यका गृहमन्त्री रोमन पोसेकले फ्र्याङ्कफर्टको प्रदर्शनमा करिब १०० जना पहिचान गरिएका वामपन्थी अतिवादी सहभागी भएको आरोप लगाए। अधिकारीहरूले प्रदर्शनमा करिब १८ हजार मानिस सहभागी भएको अनुमान गरेका छन् भने आयोजकले यसभन्दा झन्डै दोब्बर प्रदर्शनकारी सहभागी हुने अनुमान गरेका थिए।
अभियान समूहकी प्रवक्ता लिना फ्रेडरिकले प्रदर्शनको उद्देश्य युद्ध र जबर्जस्तीको सट्टा शान्ति तथा स्वतन्त्रताका लागि आवाज उठाउनु रहेको बताइन्। उनले स्वास्थ्य र शिक्षामा थप सहयोग गर्नुपर्ने, अनिवार्य सैन्य सेवाको विरोध गर्नुपर्ने र आर्थिक भारको न्यायपूर्ण वितरण हुनुपर्ने माग राखिन्। जर्मनीको प्रदर्शन युरोपभर चर्किएको युवा आन्दोलनसँग जोडिएको छ — शनिबार फ्रान्समा तीन लाख २० हजारभन्दा बढी मानिसले महँगीविरुद्ध प्रदर्शन गरेका थिए ।
