दाङको राप्ती नदीमा डुबेर एक बालकको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका–६ गोलौराका छ वर्षीय किसन डाँगी मंगलबार दिउँसो मामाघरबाट अन्य बालबालिकासँग नदीमा नुहाउन गएका थिए। नुहाउने क्रममा उनी नदीमा डुबे।
इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक साहिल बुढाथोकीका अनुसार किसन आमा र अन्य बालबालिकासँग राजपुर गाउँपालिका–७ हाटबासस्थित मामाघर गएका थिए। दिउँसो उनी साथीहरूसँग नुहाउन राप्ती नदी पुगेका थिए। नदीमा डुबेका किसनलाई अचेत अवस्थामा उद्धार गरी लमही अस्पताल पुर्याइएको थियो। चिकित्सकले जाँचपछि उनलाई मृत घोषणा गरे।
किसनका बुबा खड्कसिंह डाँगी प्रहरी हवल्दार हुन्। उनी विपद् व्यवस्थापन गुल्म तुलसीपुरमा कार्यरत रहेको प्रहरीले जनाएको छ। बालकको शव पोस्टमर्टमका लागि लमही अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नदी तथा खोलामा नुहाउन जाँदा बालबालिकालाई एक्लै नछाड्न र गहिरो पानीबाट टाढै राख्न प्रहरीले अभिभावकलाई आग्रह गर्दै आएको छ। बर्खायामपछि पनि नदीको बहाव र गहिराइ अनुमानभन्दा फरक हुन सक्ने भएकाले सचेत रहनुपर्ने सरोकारवालाहरू बताउँछन्।
