मकवानपुर — मकवानपुरको लालबकैया खोलामा पानीको सतह सतर्कता तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रका बासिन्दालाई उच्च सजगता अपनाउन आग्रह गरिएको छ। शनिबार दिउँसो १ बजे झुरेलीबजारमा खोलाको जलसतहले सतर्कता तह पार गरेको थियो। पानीको सतह अझै बढ्दो क्रममा रहेकाले नदी छेउछाउमा बस्नेहरूलाई सतर्क रहन अनुरोध गरिएको हो।
बाढी पूर्वानुमान महाशाखा तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना जारी गर्दै तटीय क्षेत्रका बासिन्दालाई उच्च सजगता अपनाउन आग्रह गरेको हो। खोलाको पानी बढ्दै गएकाले नदी किनारका बस्तीमा बसोबास गर्नेहरूलाई सुरक्षित स्थानमा रहन र सम्भावित जोखिमप्रति सचेत हुन भनिएको छ।
सम्बन्धित निकायले जलसतहको अवस्थाबारे निरन्तर निगरानी गरिरहेको जनाएको छ। बासिन्दालाई आधिकारिक सूचनालाई मात्र आधार मान्न र आवश्यक परेमा सुरक्षित ठाउँमा सर्न आग्रह गरिएको छ।
