सल्यान — लगातारको वर्षा र एकै दिन भएका दुई छुट्टाछुट्टै दुर्घटनामा चार जनाको ज्यान गएपछि जिल्ला प्रशासनले सल्यानका सबै भित्री सडकमा शनिबार साँझदेखि आइतबार बिहानसम्म सवारीसाधन चलाउन रोक लगाएको छ। प्रमुख जिल्ला अधिकारी बन्दना कुमार केसीले शनिबार सार्वजनिक सूचना जारी गर्दै बेलुकी ५ बजेदेखि आइतबार बिहान ७ बजेसम्म जिल्लाका सम्पूर्ण भित्री सडक खण्डमा सवारी सञ्चालन नगर्न आग्रह गरेकी हुन्। शुक्रबार बेलुकादेखि परिरहेको वर्षाका कारण हुन सक्ने थप क्षतिलाई ध्यानमा राखेर यो निर्णय गरिएको प्रशासनले जनाएको छ।
शुक्रबार राति पौने ९ बजेतिर बनगाड कुपिण्डे नगरपालिका–११ गरास्थित खलंगा–बालुवा संग्राही सडकमा चौरबाट बालुवा संग्राहीतर्फ गइरहेको बोलेरो जिप सडकबाट करिब १०० मिटर तल खसेको थियो। दुर्घटनामा घाइते भएका सुर्खेतको गुर्भाकोट नगरपालिका–२ मालारानीका २५ वर्षीय पप्पु डाँगीको सुर्खेतस्थित मेहेलकुना अस्पतालमा उपचारका क्रममा शनिबार बिहान २ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ। यो दुर्घटनामा थप ११ जना घाइते भएका छन्।
त्यसै दिन बेलुकी साढे ६ बजेतिर सिद्ध कुमाख गाउँपालिका–२ रातामाटे खोलास्थित भित्री कच्ची सडकमा श्रीनगरबाट टाकुरागाउँतर्फ गइरहेको जिप करिब १५० मिटर तल खोलामा खसेको थियो। दुर्घटनामा तीन जनाको मृत्यु भएको थियो भने सात जना घाइते भएका थिए। गम्भीर घाइते चार जनालाई थप उपचारका लागि भारतको लखनउ पठाइएको छ भने जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
