भारतको धार्मिक यात्रा सकेर स्वदेश फर्किएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राजनीतिक भेटघाट र आन्तरिक छलफललाई तीव्रता दिएका छन्। फर्किएको भोलिपल्ट बुधबार बिहान प्रधानमन्त्री बालेन शाह उनलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका थिए। बिहान सवा १० बजेदेखि दिउँसो सवा २ बजेसम्म चलेको उक्त भेटमा न्यायालयमा देखिएको पछिल्लो घटनाक्रम र संसद्मा दर्ता भएको निजामति विधेयक फिर्ता लिएर अध्यादेश ल्याउने सरकारको तयारीबारे कुराकानी भएको पार्टी नेताहरूले बताएका छन्।
सोही दिन सभापति लामिछानेले उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग पनि दुई घण्टा छलफल गरे। अर्थमन्त्रीको सचिवालयले यसलाई नियमित भेटघाटको निरन्तरता भनेको छ। बिहीबार बिहान उनले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमसँग साढे तीन घण्टा कुराकानी गरे। सरकारले ल्याउन लागेका अध्यादेशहरूको कानुनी पक्ष र अदालतमा मुद्दा परेर तिनमा रोक लाग्न सक्ने सम्भावनाबारे छलफल भएको बताइएको छ। बिहीबार नै उनले सभामुख डोलप्रसाद अर्यालसँग सिंहदरबारमा करिब २० मिनेट भेट गरे।
विवादित व्यक्ति इनम सापकोटासँग न्यायाधीशको संवादले राजनीतिक वातावरण तरंगित भइरहेका बेला शुक्रबार लामिछानेले कानुनी पृष्ठभूमिका रास्वपा सांसदहरूसँग छलफल गरे। सांसद मोहनलाल आचार्यका अनुसार आधा दर्जनभन्दा बढी सांसदले न्यायालयको विवाद कसरी सम्बोधन गर्ने भन्नेबारे आफ्नो धारणा राखे। सांसद आचार्यले न्यायपालिकाको स्वतन्त्रता र स्वायत्तता गम्भीर विषय भएको र न्यायपालिकाभित्रैबाट अनैतिक कुरा आएको भन्दै थप कानुन व्यवसायीसँग छलफल गर्नुपर्ने सुझाव दिएको बताए। केही सांसदले न्यायाधीशहरूमाथि महाभियोग लगाउने प्रस्तावसमेत राखेका छन्। सांसद राजीव खत्री, यज्ञमणि न्यौपाने र मधु चौलागाईं महाभियोगको पक्षमा देखिएका छन् र सार्वजनिक रूपमा नै महाभियोगको तयारी किन नगर्ने भन्ने प्रश्न उठाएका छन्। सांसदहरूको सुझावअनुसार सभापति लामिछानेले शनिबार पार्टी कार्यालय बनस्थलीमा सचिवालय बैठक बोलाएका छन्, जुन जारी छ।
