काठमाडौं — सरकारले पूर्वराजा वीरेन्द्र, रानी ऐश्वर्य र उनीहरूको परिवारको नाममा रहेको चल तथा अचल सम्पत्ति खोज्ने काम थालेको छ। यसका लागि संघीय सरकारले देशभरका सबै स्थानीय तहलाई पत्र लेखेर सहयोग मागेको छ।
भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालय अन्तर्गतको प्रदेश तथा स्थानीय तह समन्वय शाखाले सबै गाउँपालिका र नगरपालिकालाई पत्र पठाउँदै सम्पत्ति खोजबिनमा सहजीकरण गरिदिन अनुरोध गरेको हो।
पत्रमा नेपाल ट्रष्ट ऐन, नेपाल ट्रष्ट नियमावली २०६४ र सम्पत्ति खोजबिन कार्याविधि २०६७ बमोजिम पूर्वराजा वीरेन्द्र, रानी ऐश्वर्य तथा उनीहरूको परिवारको नाममा रहेको वा उनीहरूको हक, स्वामित्व वा भोगाधिकार कायम हुन सक्ने नेपालभित्रका चल तथा अचल सम्पत्तिको खोजबिन र अभिलेखीकरण गर्न लागिएको उल्लेख छ।
यस विषयमा नेपाल ट्रष्टको कार्यालय कमलादीले यही कात्तिक ९ गते छलफल गरेर सहजीकरणका लागि मन्त्रालयमा पत्र पठाएको थियो। त्यसकै आधारमा मन्त्रालयका शाखा अधिकृत प्रकाश पन्थीले सबै स्थानीय तहमा पत्र लेखेका हुन्।
पत्रमा स्थानीय तहहरूलाई पूर्वराजा वीरेन्द्र, रानी ऐश्वर्य र उनीहरूको परिवारको नाममा रहेको जग्गाधनी प्रमाणपूर्जा, जग्गाधनी दर्ता श्रेस्ता, फिल्डबुक वा सोसँग सम्बन्धित विवरण तथा कागजात नेपाल ट्रष्टको कार्यालयमा पठाइदिन भनिएको छ। स्थानीय तहहरूबाट प्राप्त विवरणका आधारमा सम्पत्तिको अभिलेख तयार गरिने छ।
