रुपन्देही । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ स्थित बनरहवामा लुकाइछिपाइ राखिएका मोबाइलका डिस्प्ले तथा बडी प्यानल प्रहरीले नियन्त्रणमा लिएको छ। बरामद सामग्रीको मूल्य रु नौ लाख १८ हजार बराबर रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा गएराति खोजतलास गरेको थियो। त्यस क्रममा उक्त स्थानमा राखिएका विभिन्न ब्रान्डका मोबाइलका पार्टपुर्जा फेला परेको हो। प्रारम्भिक अनुसन्धानमा ती सामग्रीको वैध भन्सार कागजात नदेखिएको प्रहरीले बताएको छ।
सीमावर्ती क्षेत्र हुँदै मोबाइलका पार्टपुर्जा, इलेक्ट्रोनिक सामान तथा अन्य सामग्री भन्सार छलीबाट भित्र्याउने गतिविधि बढेपछि प्रहरीले निगरानी र गस्तीलाई तीव्र बनाएको छ। यही क्रममा गएराति कारबाही सफल भएको प्रहरीको भनाइ छ।
बरामद सामग्रीको मूल्याङ्कन गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सम्बन्धित निकायसँग समन्वय गरिएको छ। शुक्रबार बरामद सामग्री आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहियामा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए। सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणमा सहयोग गर्न तथा शङ्कास्पद गतिविधिबारे तत्काल जानकारी गराउन प्रहरीले सर्वसाधारणसँग आग्रह गरेको छ।
