काठमाडौं — प्रसिद्ध भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि संवैधानिक र लोकतान्त्रिक बाटो नै सही विकल्प भएको बताएका छन्।
भारतीय सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा उनले बंगलादेश र नेपालमा भएका पछिल्ला राजनीतिक घटनाक्रमको प्रसङ्ग उठाउँदै भारतमा मतदान, संविधान र शान्तिपूर्ण आन्दोलनमार्फतै परिवर्तन ल्याउन सकिने तर्क राखे। उनका अनुसार संविधान, मतदानको अधिकार र शान्तिपूर्ण रूपमा विरोध गर्ने शक्ति नागरिकसँगै छ, र चुनावबाटै सरकार परिवर्तन गर्न सकिन्छ। सन् २०२९ मा हुने लोकसभा चुनावसम्म लोकतान्त्रिक माध्यमबाट संघर्ष जारी राख्नुपर्नेमा उनले जोड दिए।
डा. भीमराव अम्बेडकर, महात्मा गान्धी र भगत सिंहको विरासत सम्झँदै उनले नागरिक अधिकारको प्रयोग र संवैधानिक प्रक्रियाबाट सरकारलाई जवाफदेही बनाउन सकिने धारणा व्यक्त गरे। सरकारका निरन्तर आलोचकका रूपमा चिनिने प्रकाश राजले जनताको असन्तुष्टि व्यक्त गर्ने अधिकार र लोकतान्त्रिक मूल्यको महत्त्व औँल्याए।
यसैबीच दिल्लीमा प्रस्तावित ‘तिरंगा मार्च’ अगाडि प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिइएको घटनाप्रति पनि उनले प्रश्न उठाए। उक्त मार्च मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारलाई लक्षित गर्दै निर्वाचन प्रक्रियाका विवाद र मतदाता सूचीको विशेष गहन पुनरावलोकन (एसआईआर) मा कथित अनियमितताको विरोधमा आयोजना गर्ने तयारी थियो। प्रदर्शनकारीले प्रक्रियामा जवाफदेहिता र मुख्य निर्वाचन आयुक्तको राजीनामा माग गरेका थिए। मतदाता सूची पुनरावलोकनका अनियमितताका आरोप र प्रदर्शनकारीमाथिको कारबाहीले भारतमा निर्वाचनको निष्पक्षता र नागरिकको विरोध अधिकारबारे बहस चर्किएको छ।
