इन्जिनियर सन्तोष पाण्डेय लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्त भएका छन्। आज बसेको मन्त्रिपरिषद् बैठकले पाण्डेयलाई कोषको सदस्य सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाका स्थायी बासिन्दा पाण्डेय प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौँ महानगरपालिकाको प्रमुख हुँदादेखि नै उनी निकट रहेर सचिवालयमा काम गरिरहेका थिए। अहिले उनलाई सदस्य सचिवमा नियुक्त गरेर लुम्बिनीको संरक्षण, व्यवस्थापन र विकासको महत्त्वपूर्ण जिम्मेवारी सुम्पिएको हो।
सरकारले गत वैशाख १९ गते जारी गरेको ‘सार्वजनिक पदाधिकारीको विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३’ राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि अन्य निकायका पदाधिकारीसँगै लुम्बिनी विकास कोषका पदाधिकारी पनि पदमुक्त भएका थिए। त्यसपछि गत असारमा कोषका विभिन्न १२ पदका लागि आवेदन माग गरिएको थियो।
सदस्य सचिवका लागि २०९ जनाले आवेदन दिएका थिए। तर सरकारले आवेदन माग गरे पनि आवेदन नदिएका पाण्डेयलाई सदस्य सचिव नियुक्त गरेको हो। यसअघि लुम्बिनी विकास कोषमा दीपक श्रेष्ठ सदस्य सचिव रहेका थिए।
