काठमाडौं । यस वर्ष मनसुनका क्रममा आएका बाढीपहिरोमा नेपाली सेनाले खेलेको भूमिकाबारे सेनाले विस्तृत विवरण सार्वजनिक गरेको छ । खोज, उद्धार, राहत वितरण र पुनःस्थापनाका काममा सेनाले समन्वय र सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको सेनाको दाबी छ ।
सेनाका अनुसार भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीपछि असोजमा भएको अविरल वर्षाले देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानको जोखिम बढाएको थियो । बागलुङ, पर्वत, म्याग्दी, मनाङ र मुस्ताङलगायत जिल्लामा जनधनको क्षति भएको थियो भने सडक र पुल भत्किएर आवागमन ठप्प भएको थियो ।
प्रतिकूल मौसम र दुर्गम भूगोलका बाबजुद सेनाले हजारौँ सैनिकलाई चौबिसै घण्टा परिचालन गरेको जनाएको छ । जोखिमपूर्ण स्थानमा रहेका १२७ जनालाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा सारिएको, बुढीगण्डकी बाढीबाट प्रभावित क्षेत्रबाट एमआई–१७ सहितका चार हेलिकप्टरले एक हजार १०६ जनाको उद्धार गरेको र करिब १८ हजार ६८० किलोग्राम खाद्यान्न तथा राहत सामग्री ढुवानी गरिएको विवरणमा उल्लेख छ ।
अवरुद्ध सडक सञ्चालनका लागि ड्रोनमार्फत इन्धन आपूर्ति गरिएको, मनाङको ठाडो खोलामा थुनिएको मस्र्याङ्दी नदीको बहाव सुचारु गराइएको, हिम्लुङ हिमालमा हिमपहिरोमा मृत्यु भएका पर्यटकको शव हवाई मार्गबाट उद्धार गरिएको र रसुवालाई सडक सञ्जालमा पुनः जोड्न दुई ठाउँमा एक्रोबृज जडान गरिएको पनि सेनाले जनाएको छ ।
सैनिक प्रवक्ता राजाराम बस्नेतका अनुसार विपद् व्यवस्थापन सबै निकायको समन्वयबाट मात्र प्रभावकारी हुन सक्छ । सेना, प्रहरी, सशस्त्र प्रहरी, स्थानीय प्रशासन र समुदायबीचको सहकार्यले खोज, उद्धार र राहत वितरणलाई प्रभावकारी बनाएको उनले बताए ।
