मधेस प्रदेशका गाउँबस्तीमा खेतीपातीको सामान ओसारपसार गर्न गोरुगाडाको प्रयोग अझै पनि जारी छ। सप्तरीलगायतका जिल्लाका ग्रामीण क्षेत्रमा किसानले खेतबारीमा फलेको अन्नबाली घरसम्म पुर्याउन बैलगाडाकै भर पर्नुपरेको छ।
धान, मकै र गहुँजस्ता मुख्य बाली खेतबाट घर ल्याउने काममा गोरुगाडा नै प्रयोग हुँदै आएको छ। यातायातका आधुनिक साधन र नयाँ प्रविधि देशभर फैलिँदै गए पनि कतिपय गाउँमा कृषि सामग्री बोक्न गोरुगाडाबाहेक अर्को भरपर्दो विकल्प छैन। त्यसैले यो पुरानो साधन त्यहाँको दैनिकीको अभिन्न हिस्सा बनिरहेको छ।
महदेवा गाउँपालिका–५ भगपतपुरका दशरथ मण्डलले आफूले सम्झन थालेदेखि नै घरमा बैलगाडा रहेको बताए। उनका अनुसार दुई दशकअघिसम्म टोलका धेरैजसो घरमा दुईवटा गोरु र एउटा बैलगाडा अनिवार्यजस्तै हुन्थ्यो। त्यसबेला यात्रा गर्न, सामान बोक्न, जन्ती जान र बेहुली भित्र्याउनसमेत बैलगाडाकै प्रयोग हुन्थ्यो। उनी परम्परादेखि चल्दै आएको यो काममा अहिले पनि निरन्तर लागिरहेका छन्।
तराईका धेरै गाउँमा हलो जोत्न, खेत सम्याउन र पराल दाइ गर्न अहिले पनि गोरुकै प्रयोग हुने गरेको राजविराज नगरपालिका–१३ का किशुनदेव यादवले बताए। सहरी र सजिलो पहुँच भएका ठाउँमा भने त्यही कामका लागि ट्याक्टर चल्न थालेको छ। गाउँ र सहरबीचको यो फरकले प्रविधिको पहुँच अझै सबै ठाउँमा समान नपुगेको देखाउँछ।
उखु, धान, पराल, मल, रहरी, चना र तोरीलगायतका सामग्री गोरुगाडामा राखेर ओसार्ने चलनले मधेसको ग्रामीण जीवनको मौलिक पहिचान झल्काउने तिरहुत गाउँपालिका गोइठीकी मेरिना देवको भनाइ छ। उनका अनुसार बैलगाडालाई विगतमा गाउँको ऐतिहासिक र महत्त्वपूर्ण सवारीका रूपमा हेरिन्थ्यो। वर्षायामको तुलनामा हिउँदमा यसको प्रयोग बढी हुने गरेको उनले बताइन्।
