नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले सोमबार चितवन राइनोजलाई पाँच विकेटले हराएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जितका लागि १३० रनको लक्ष्य पाएको सुदूरपश्चिमले १६.४ ओभरमा पाँच विकेट गुमाएर १३१ रन बनायो। वेस्ट इन्डिजका ब्याटर शेरफेन रदरफोर्ड २१ रनमा अविजित रहे। ब्रान्डन म्याकमुलनले २१ बलमा ४३ रन बनाए र खेलका उत्कृष्ट खेलाडी चुनिए। खेलपछि पत्रकार सम्मेलनमा रदरफोर्डले सुदूरपश्चिमका समर्थकको उत्साह देखेर आफू छक्क परेको बताए। उनले समर्थककै लागि यसपटक उपाधि जित्न चाहेको बताए। उनले आफ्नो टिम निकै बलियो रहेको र उपाधिकै लागि चुनौती दिने धारणा राखे। कप्तान दीपेन्द्रसिंह ऐरीको प्रशंसा गर्दै रदरफोर्डले ऐरी सबैका लागि पछ्याउन लायक खेलाडी रहेको बताए। उनले एनपीएलको उज्ज्वल भविष्य देखेको र यस प्रतियोगिताले नेपालमा राम्रा खेलाडी उत्पादन गर्न मद्दत गर्ने धारणा राखे। सुदूरपश्चिमले एनपीएलका अघिल्ला दुवै संस्करणमा फाइनल खेले पनि उपाधि जित्न सकेको थिएन। पहिलो संस्करणमा जनकपुर बोल्ट्स र दोस्रो संस्करणमा लुम्बिनी लायन्ससँग पराजित भएको टोली यसपटक पहिलो उपाधि जित्ने लक्ष्यमा छ।
समर्थकको मायाले उत्साहित रदरफोर्ड : सुदूरपश्चिमलाई यसपटक उपाधि दिलाउने लक्ष्य
