नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना मातहतका सबै समितिहरूलाई सामाजिक सञ्जालमा आधिकारिक पेज वा ग्रुप बनाउन र त्यसको विवरण पार्टी केन्द्रलाई जानकारी गराउन निर्देशन दिएको छ। पेज वा ग्रुप पहिल्यै बनाएको भए त्यसको जानकारी दिनुपर्ने, र नबनाएको भए नयाँ बनाई केन्द्रलाई तत्काल सूचित गर्नुपर्ने व्यवस्था गरिएको छ।
पार्टीले हालै जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि)को सातौँ बुँदामा सामाजिक सञ्जाल व्यवस्थापनसम्बन्धी यो प्रावधान राखिएको हो। निर्देशिकामा उल्लेख भएअनुसार मातहतका समितिहरूले सामाजिक सञ्जालअन्तर्गत आधिकारिक पेज वा ग्रुप निर्माण गरेको भए त्यसको जानकारी, र नबनाएको भए आधिकारिक पेज तथा ग्रुप निर्माण गरी पार्टी केन्द्रलाई तत्काल जानकारी गराउनुपर्नेछ।
असोज २३ गते बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकको निर्णयपछि असोज २५ गते जारी अपानिमा यो व्यवस्था समावेश गरिएको हो। सोही बैठकको निर्णयअनुसार नेकपाले कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म देशव्यापी दुईमहिने जागरण अभियान सञ्चालन गरिरहेको छ। अपानिअनुसार यो अभियान पार्टीको राष्ट्रिय महाधिवेशन, स्थानीय तह र प्रदेशसभाको निर्वाचन तथा सरकारका जनविरोधी क्रियाकलापविरुद्धको आन्दोलनको तयारीका रूपमा सञ्चालन गरिनेछ।
