काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दुई महिने राष्ट्रिय जागरण अभियान सुरु गरेको छ । शनिबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले अभियानको शुभारम्भ गरे ।
राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्र र जनअधिकारको संरक्षण, जनजीविकाका सवाल तथा पार्टी समायोजन, सदस्यता नवीकरण र सङ्गठन सुदृढीकरणका लागि यो अभियान चलाइएको पार्टीले जनाएको छ । अभियानमा सहभागी हुन अपिल जारी गर्दै प्रचण्डले राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतासँग जोडिएका चुनौती तथा भूराजनीतिक चलखेलप्रति गम्भीर भएर सचेत हुनुपर्ने अवस्था रहेको बताए ।
अभिव्यक्ति स्वतन्त्रताका लागि भएका आन्दोलनको जगमा बनेको सरकारबाटै फरक मतप्रति असहिष्णु व्यवहार देखिने, बोल्ने र प्रश्न गर्ने जनताको स्वतन्त्रतामाथि रोक लगाउने तथा निजी क्षेत्र र नागरिक अधिकारमाथि हस्तक्षेप गर्ने प्रवृत्ति देखिएको उनको आरोप थियो । आफ्ना विगतका कामको इमानदारीपूर्वक समीक्षा गर्दै गल्ती र कमजोरीप्रति आत्मालोचना गरेर जनताको विश्वास बलियो बनाउँदै अघि बढ्ने उनले बताए ।
अभियानका क्रममा जनताले भोगेका समस्या स्थानीय, प्रदेश र सङ्घीय तहका सम्बन्धित निकायसमक्ष पुर्याउने र आवश्यकताअनुसार मागपत्र तथा ज्ञापनपत्र बुझाएर समाधानका लागि निरन्तर पहल गर्ने प्रचण्डले बताए । तत्काल एमालेसँग पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष्ट पार्दै उनले देश सङ्कटमा परेको अवस्थामा विचार मिल्ने शक्तिहरूसँग सहकार्य गर्न नेकपा नडराउने पनि बताए । अभियानसँगै सदस्यता नवीकरण तथा अद्यावधिक, सङ्गठनात्मक समायोजन, कार्यविभाजन र पार्टी एकताका बाँकी काम तल्लो तहसम्म सम्पन्न गरिने जानकारी पनि उनले दिए । यो अभियान मङ्सिर २५ गते समापन हुनेछ ।
