काठमाडौं । मोरङ, सर्लाही, बर्दिया र डोटी गरी चार जिल्लामा चार जनाको शव फेला परेको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले दिएको जानकारीअनुसार यी घटना शुक्रबार र शनिबार भएका हुन् ।
मोरङको पथरी शनिश्चरे नगरपालिका–८ स्थित डाँस खोलामा सोही ठाउँका ७७ वर्षीय कृष्णा माझी शुक्रबार मृत अवस्थामा भेटिए । त्यस्तै सर्लाहीको बलरा नगरपालिका–८ को गडहिया बजारमा नामथर र ठेगाना नखुलेका अन्दाजी ६० वर्षीय पुरुष शनिबार मृत फेला परे ।
बर्दियाको राजापुर नगरपालिका–८ पुरैनास्थित खेतको कुलोमा सोही वडाको फत्तेपुर बस्ने ७१ वर्षीय भक्तराम जैसी काफ्ले शनिबार मृत अवस्थामा भेटिए । डोटीको शिखर नगरपालिका–८ गोल्मागाडस्थित सेती नदीको किनारमा पनि नामथर र ठेगाना नखुलेका अन्दाजी ३० वर्षीय पुरुष शनिबार मृत फेला परेका छन् ।
चारै घटनाबारे प्रहरीले छुट्टाछुट्टै रूपमा अनुसन्धान अघि बढाएको छ । मृतकको पहिचान नखुलेका दुई घटनामा प्रहरीले पहिचान खुलाउने प्रयास गरिरहेको छ ।
