सर्लाहीको हरिवन बजारमा रहेको एउटा सुनचाँदी पसलमा चोरी गरेको आरोपमा प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरूको साथबाट चोरी भएका गरगहनासहित चोरीमा प्रयोग भएका औजारसमेत बरामद भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार हरिवन नगरपालिका-११ मा सुरज साहले सञ्चालन गर्दै आएको रिद्धि सिद्धि ज्वेलर्समा सोमबार बिहान करिब चार बजे चोरी भएको थियो। पसलमा चोरी भएको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको टोलीले खोजतलास सुरु गरेको थियो।
खोजतलासका क्रममा प्रहरीले हरिवन नगरपालिका-११ मा कबिन कार्कीको घरमा डेरा लिएर बस्दै आएका दुई जनालाई नियन्त्रणमा लिएको हो। उनीहरूको कोठाबाट विभिन्न प्रकारका सुनका गरगहना र चोरीमा प्रयोग भएका औजार फेला परेको प्रहरीको भनाइ छ।
पक्राउ पर्नेहरूमा भारतको बिहार राज्य, मोतिहारी जिल्ला, आदापुर थाना क्षेत्रको औरहिया पञ्चायत वडा नम्बर ११ का २५ वर्षीय जुनैद अंसारी र सोही जिल्लाको झरोखर थाना क्षेत्रको आठमोहनी पञ्चायत वडा नम्बर १२ का २८ वर्षीय रियाज अंसारी रहेका छन्।
दुवै जनालाई नियन्त्रणमा राखेर चोरीसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक किशोर केसीले जानकारी दिएका छन्।
