प्रधानन्यायाधीश मनोजकुमार शर्माले आफ्नो नाम जोडेर प्रकाशित भएको समाचारको खण्डन गरेका छन्। उनले बिहीबार दिउँसो विज्ञप्ति जारी गर्दै आफूलाई इनम सापकोटासँग जोडिएका प्रसंगमा कुनै संलग्नता नरहेको बताएका हुन्।
शर्माले आफ्नो नाम उल्लेख गर्दै प्रकाशित समाचारमा कुनै सत्यता नरहेको बताए। उक्त समाचार देखेर आफू आश्चर्य र स्तब्ध भएको उनको भनाइ छ। आफ्नो नाम उल्लेख गरिएका व्यक्ति र प्रसंगसँग आफ्नो कुनै सम्बन्ध नरहेको उनले स्पष्ट पारेका छन्।
विज्ञप्तिमा शर्माले ती व्यक्तिहरूसँग आफ्नो प्रत्यक्ष वा परोक्ष रूपमा कुनै चिनजान र सम्पर्क नरहेको र आफूले उनीहरूलाई कहिल्यै नभेटेको उल्लेख गरेका छन्। समाचारमा उल्लेख गरिएका नोभेम्बर, डिसेम्बर र जनवरी महिनामा आफू प्रधानन्यायाधीश बनिसकेको नरहेको पनि उनले बताएका छन्।
उनले उक्त समाचारलाई आधारहीन, असत्य र कपोलकल्पित भन्दै सर्वसाधारणमा भ्रम सिर्जना गर्ने बदनियतका साथ प्रकाशित गरिएको आरोप लगाएका छन्।
शर्माले डिओपोस्टमा प्रकाशित समाचारप्रति आपत्ति जनाएका हुन्। उक्त समाचारमा प्रहरीको नियन्त्रणमा रहेका भनिएका इनम सापकोटाको मोबाइलमा नोभेम्बर, डिसेम्बर र जनवरीका गरी एक लाख ७४ हजार रुपैयाँ बराबरको कारोबार विवरण फेला परेको उल्लेख गरिएको थियो। उक्त विवरणमुनि मनोजकुमार शर्मा, ओखलढुंगाका विश्व पोखरेल र बंशी दाहालको नाम लेखिएको समाचारमा जनाइएको थियो। शर्माले उक्त विवरण र व्यक्तिहरूसँग आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्।
