सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ गुर्जीस्थित मदन भण्डारी लोकमार्गमा अटो दुर्घटना हुँदा सात जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ ।
झनझनेबाट मकवानपुरको झुरझुरेतर्फ जाँदै गरेको लु प्र ०१–००१ स ८१४० नम्बरको अटो बिहीबार दिउँसो साढे १ बजे अनियन्त्रित भई सडकबाट करिब १५ देखि २० मिटर तल खेतमा खसेको थियो ।
दुर्घटनामा अटो चालक मकवानपुरको बागमती गाउँपालिका–१ का ४० वर्षीय गंगा घिसिङ मध्यम घाइते भएका छन् । गम्भीर घाइते हुनेमा पहिचान नखुलेकी ३३ वर्षीया गर्भवती महिला, सोही ठाउँकी १९ वर्षीया कान्छीमाया पहरी, उनकी ३ वर्षीया छोरी समिक्षा पहरी, ९ वर्षीय प्रवास पहरी, ७ वर्षीया स्वस्तिका पहरी र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ ककरेकी ६० वर्षीया पातलीमाया भोलन छन् ।
सबै घाइतेलाई उपचारका लागि मकवानपुर पठाइएको छ । घटनापछि प्रहरी चौकी हरिहरपुरगढीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । दुर्घटनामा परेको अटो घटनास्थलमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
