असोज ११ गतेको भारी वर्षा र हिमपातले बन्द भएको थोरङला पास पदमार्गको हिउँ पन्छाएपछि मुस्ताङमा पर्यटकको बाक्लो उपस्थिति देखिएको छ। पदमार्ग खुलेको पछिल्लो दुई सातामा लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै ७७२ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन्।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को मुस्ताङस्थित जोमसोम चेकपोस्टका अनुसार हिमपातपछिको अवधिमा ४३ जना सार्क राष्ट्रका र ७२९ जना अन्य मुलुकका विदेशी पर्यटक जिल्ला प्रवेश गरेका छन्। समुद्री सतहदेखि ५ हजार ४१६ मिटर उचाइमा अवस्थित थोरङला पास राउण्ड अन्नपूर्ण चक्रीय पदमार्गको सर्वोच्च विन्दु हो। साहसिक र जोखिमपूर्ण मानिने यो पदमार्ग हुँदै मनाङबाट आएका पर्यटक मुक्तिनाथसम्म निस्कने गर्छन्।
पदमार्गमा जमेको हिउँ मुस्ताङका पर्यटन व्यवसायीले पन्छाएका थिए भने मनाङतर्फ सुरक्षाकर्मी र स्थानीय पर्यटन व्यवसायी मिलेर पहुँचमार्गको हिउँ हटाएका थिए। त्यसपछि पदयात्रा पुनः सहज बनेको हो। एक्याप जोमसोमका प्राकृतिक स्रोत संरक्षण सहायक संजोग थकालीका अनुसार हिउँदयामअघि अक्टोबर र नोभेम्बरमा उल्लेख्य सङ्ख्यामा विदेशी पर्यटक थोरङला पास हुँदै मुस्ताङ आउने गर्छन्, र हिउँ पन्छाएपछि बिहीबारसम्म ७७२ जना आइपुगेका हुन्।
मुक्तिनाथ होटल एशोसिएसनका अध्यक्ष सुरज गुरुङले थोरङला पास गर्ने सिजन सुरु भएकाले मनाङबाट आउने पर्यटकको सङ्ख्या बढ्दै गएको बताए। उनका अनुसार थोरङला पास हुँदै दैनिक एक सयभन्दा बढी पर्यटक मुक्तिनाथ निस्किने गरेका छन्। बेनी–जोमसोम सडकमार्गबाट आउने पर्यटक घटे पनि यस रुटका पर्यटकले मुक्तिनाथका धेरैजसो होटल भरिन थालेका छन्। यो सिजन नोभेम्बर अन्तिमसम्म चल्ने उनको भनाइ छ। सामान्यतया वर्षा दुई सिजन चल्ने यो पदमार्गमा विदेशी पर्यटक मे, जुन र जुलाईमा पनि पदयात्रा गर्ने गर्छन्।
