काठमाडौँ – सगरमाथा १७ पटक चढिसकेका आरोही जाङ्बु शेर्पाले हिमालको हिउँ तीव्र गतिमा पग्लिरहेको भन्दै समयमै संरक्षणको दीर्घकालीन योजना नबनाए ठूलो विपत्ति आउन सक्ने चेतावनी दिएका छन्।
राजधानीको दरबारमार्गमा सोमबार आयोजित ‘जलवायु पीडितदेखि जलवायु नेतृत्वसम्म’ विषयक अन्तरक्रियामा बोल्दै उनले सन् २००८ र सन् २०१८ मा खिचेका सगरमाथा क्षेत्रका तस्बिर तुलना गर्दा अवस्था निकै बदलिएको बताए। उनका अनुसार सन् २००८ मा हिउँ बाक्लो बरफको थुप्रोजस्तो देखिन्थ्यो र हिँड्न सहज थियो, तर सन् २०१८ सम्म आइपुग्दा धेरै ग्लेशियर पग्लिसकेका थिए।
क्याम्प वान र क्याम्प टु पुग्दाका अनुभव पनि फरक भइसकेको उनले सुनाए। क्याम्प थ्री र क्याम्प फोरतिर अहिले हिउँ नै छैन, पूरै ढुङ्गा मात्रै छ। हिउँ नभएर काँचो ढुङ्गा मात्रै हुँदा चिप्लिएर लड्ने खतरा बढेको र आरोहण झन् कठिन भएको उनको भनाइ छ।
सोलुखुम्बुको जुनबेसीका शेर्पाले आफू २२ वर्षको उमेरमा बुबा खोज्न जाँदा हिमाल पुग्न आधा घण्टा लाग्ने गरेको, तर अहिले हिउँ पग्लिएर पोखरी बनेको र दूरी निकै टाढा भइसकेको स्मरण गरे। उनको अन्तिम आरोहण सन् २०२१ मा भएको थियो। मकालु, चोयु र शिशापाङ्गा पनि चढेका उनले अबको ३० वर्षपछि सगरमाथामा हिउँ नै देख्न नपाइने हो कि भन्ने चिन्ता व्यक्त गरे।
खुम्बु आइसफल निरन्तर सर्दै गएको र पग्लिएको हिउँको पानी बेसक्याम्पमा ठूला पोखरी बन्ने गरेको उनले बताए। तापक्रम बढ्दै जाँदा पोखरी झन् ठूला हुने र पानीको भार थेग्न नसकेर फुट्ने खतरा रहेको उनको भनाइ छ। यस्तो अवस्थामा खुम्बु क्षेत्रमा हजारौँ मानिसको ज्यान जान सक्ने उनले चेतावनी दिए।
सरकारले वर्षको तीन-चार पटक, विशेषगरी गर्मी र वसन्त ऋतुमा मानिस पठाएर बरफको नापजाँच गराउनुपर्ने, हिमतालको गहिराइ र ग्लेशियरको आयतनको नियमित अभिलेख राख्नुपर्ने उनको सुझाव छ। जोखिमपूर्ण ठाउँका बस्ती सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाउनुपर्ने र स्थानीय निकायसँग समन्वय गरेर स्थानीयलाई जोखिमबारे जानकारी दिनुपर्ने उनले बताए।
