इटहरी — नेपाली लोक–रक सङ्गीतको चर्चित ब्यान्ड नेपथ्यले इटहरीमा पहिलो पटक प्रत्यक्ष प्रस्तुति दिएको छ । मंगलबार इटहरी रङ्गशालामा आयोजना भएको ‘नेपथ्य इन कन्सर्ट २०२६’ मा १० हजारभन्दा बढी दर्शक सहभागी भएका थिए ।
पूर्वाञ्चल इभेन्ट्स प्रालिले आयोजना गरेको कन्सर्ट इटहरी उपमहानगरपालिकाको प्रवर्द्धनमा सम्पन्न भएको हो । पूर्वी नेपालका विभिन्न जिल्लाबाट उल्लेख्य सङ्ख्यामा सङ्गीतप्रेमी इटहरी पुगेका थिए । करिब १० हजार दर्शक अट्ने गरी तयार गरिएको रङ्गशालामा अपेक्षाभन्दा बढी उपस्थिति रहेको आयोजकले जनाएको छ ।
तीन दशकभन्दा लामो समयदेखि नेपाली सङ्गीत क्षेत्रमा सक्रिय नेपथ्यले कन्सर्टमा आफ्ना चर्चित सदाबहार गीतहरू प्रस्तुत गर्यो । लोकभाका र आधुनिक वाद्यवादनको मौलिक संयोजनसहित ब्यान्डले ‘छेक्यो छेक्यो’, ‘जोमसोमे बजारमा’, ‘रेशम’ र ‘भेडाको ऊनजस्तो’ जस्ता गीतहरू गाउँदा दर्शकहरू उत्साहपूर्वक झुमेका थिए ।
लामो समयदेखि रेडियो, टेलिभिजन तथा डिजिटल माध्यममार्फत नेपथ्यका गीत सुन्दै आएका दर्शकहरूले आफ्नै सहरमा ब्यान्डको प्रत्यक्ष प्रस्तुति हेर्न पाउँदा खुसी व्यक्त गरेका छन् । आयोजकले नेपथ्यको इटहरी प्रस्तुति फेरि नहुन पनि सक्ने सम्भावना औँल्याएकाले कार्यक्रमप्रति दर्शकको चासो झनै बढेको थियो ।
