काठमाडौँको दक्षिणकालीस्थित फर्पिङ चेकपोस्टमा प्रहरीले लुकाइछिपाई ल्याउँदै गरेको ठूलो परिमाणको पटकाजन्य पदार्थ बरामद गरेको छ। सोमबार राति वीरगञ्जबाट राजधानीतर्फ आउँदै गरेको विद्युतीय गाडीलाई नियमित जाँचका क्रममा प्रहरीले रोकेको थियो।
इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको टोलीले बा.प्र. ०६-००१ ज ०२२० नम्बरको गाडीको विस्तृत चेकजाँच गर्दा भित्र लुकाएर राखिएको पटकाजन्य विस्फोटक पदार्थ भेटिएको हो। पदार्थ फेला परेपछि गाडी चलाउँदै गरेका चन्द्रागिरि नगरपालिका-४ का २८ वर्षीय प्रशान्त थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बरामद सामग्रीमा कलर काटीका ८ प्याकेट, रोकर बम, ओरिजिनल र गोल्ड रुचका ५-५ प्याकेट, ५५५ बम, किङ कोब्रा र पेन्टा स्काईका ३-३ प्याकेट रहेका छन्। त्यस्तै ह्याप्पी बर्थडे, याहु, रेन्ज बारात, सुपर फ्लावर, बाहुबली, राउन्ड चक्कर, डिजिटल, मोरी छाप, ग्रिन कलर्ड र मङ्गल-२ का दुई-दुई प्याकेट तथा गोल्डेन कोर, २५ राइडर, रेड कार्गो, मेगा एलिफ्यान्ट र गन गनका एक-एक प्याकेट प्रहरीले फेला पारेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार पक्राउ परेका थापामाथि थप अनुसन्धान अघि बढाइएको छ। चाडपर्वको मुखमा निषेधित पटका भित्र्याउने गतिविधिबारे प्रहरीले गहिरो अनुसन्धान गरिरहेको छ।
