विजयादशमीको दिन आज जीवित देवीका रूपमा पुजिँदै आएकी एकान्त कुमारी लुनिभा बज्राचार्यको हातबाट भक्तजन तथा सर्वसाधारणले टीका, जमरा र प्रसाद ग्रहण गरेका छन्। दसैँको सबैभन्दा ठूलो दिन मानिने विजयादशमीमा कुमारीबाट टीका थाप्ने परम्परा यस वर्ष पनि उल्लासमय रूपमा सम्पन्न भयो।
परम्पराअनुसार साइतको टीका सबैभन्दा पहिला कुमारी आफैंले लगाएकी थिइन्। त्यसपछि तलेजुका मूल पुजारी, नाइके, जोशी, कर्माचार्य, गुरु र पुरोहितले कुमारीको हातबाट साइतको टीका लिएका थिए। पुजारी र पुरोहितहरूले टीका ग्रहण गरिसकेपछि सर्वसाधारणका लागि टीका खुला गरिएको थियो।
यसबारे जानकारी दिँदै पूर्व मूल नाइके नरेन्द्रप्रसाद जोशीले टीका ग्रहणपछि दुर्गा बिसर्जनसहित तलेजु भवानीलाई दसैँघरबाट दक्षिणस्थित देवगृहमा विधिपूर्वक भित्र्याइएको बताए। फूलपातीका दिन देवगृहबाट मूलचोकको पश्चिम कुमारी चोकस्थित दसैँघरमा ल्याइएकी तलेजु भवानी आज देवगृहमा पुनः स्थापित भएकी हुन्।
राजोपाध्याय, जोशी र कर्माचार्य पुजारीहरूले तलेजु भवानीसहित अन्य देवीदेवतालाई विधिपूर्वक देवगृहमा भित्र्याए। यात्राका क्रममा १९ जना पुजारीले परम्परागत जामा, पगरी, भोटो र खास्टोसहितको वस्त्र धारण गरेका थिए।
