रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफबीच युक्रेन युद्ध अन्त्य गर्ने विषयमा भेटवार्ता भएको छ।
बुधबार रूसको सेन्ट पिटर्सबर्गस्थित कन्स्टान्टिन दरबारमा भएको भेटमा युद्धविरामका नयाँ प्रस्ताव र अमेरिका, रूस तथा युक्रेनबीचको त्रिपक्षीय वार्ता पुनः सुरू गर्ने विषयमा छलफल भएको हो। विटकफले युक्रेन युद्ध टुङ्ग्याउने सम्भावित उपायबारे दस्तावेज प्रस्तुत गर्दै प्राविधिक टोलीमार्फत शान्ति सम्झौताको आधार तयार गर्न सकिने प्रस्ताव राखे।
पुटिनले युद्ध अन्त्य गर्ने अमेरिकी प्रयासका लागि धन्यवाद दिए पनि भेटबाट तत्काल युद्धविराम वा सम्झौतामा सहमति जुटेन।
यसअघि मंगलबार विटकफले नर्वेको ओस्लोमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, नर्वे र फिनल्यान्डका नेता तथा युरोपेली र नेटो प्रतिनिधिसँग छलफल गरेका थिए। त्यहाँ युक्रेनको सुरक्षा ग्यारेन्टी, युद्धपछिको पुनर्निर्माण र आर्थिक विकास तथा युरोपेली सुरक्षाबारे प्रस्तावमाथि उल्लेखनीय प्रगति भएको दाबी गरिएको छ। फिनल्यान्डका राष्ट्रपति अलेक्जान्डर स्टबले शान्ति प्रयासमा वास्तविक प्रगति भएको बताए।
जेलेन्स्कीले युद्ध अन्त्य गर्न तत्काल लडाइँ रोक्नु न्यूनतम सर्त भएको बताएका छन्। तर रूसले पूर्वी युक्रेनको डोनेत्स्क क्षेत्रमाथि पूर्ण नियन्त्रण र युक्रेन नेटोमा सामेल नहुने प्रत्याभूति चाहेको छ। गम्भीर मतभेदकै कारण शान्ति सम्झौताको सम्भावना अझै अनिश्चित छ।
भेटकै अवसरमा रूसले सन् २०२२ देखि हिरासतमा राखेका ७४ वर्षीय अमेरिकी नागरिक स्टिफन हबर्डलाई रिहा गरेको छ। तर कूटनीतिक प्रयास चलिरहेकै बेला बुधबार युक्रेनका विभिन्न स्थानमा भएका रूसी आक्रमणमा पाँच जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले जनाएका छन्।
रूसले २०२२ फेब्रुअरी २४ मा युक्रेनमाथि पूर्णस्तरीय आक्रमण थालेको थियो। विटकफ र पुटिनबीच यो नवौं प्रत्यक्ष भेट हो।
