काठमाडौं । प्रेम सम्बन्धका बेला खिचिएका गोप्य तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरी महिलाको चरित्र हत्या गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले दुई जनालाई पक्राउ गरेको छ।
ब्युरोले इलामको माई नगरपालिका–१ स्थायी घर भएका २९ वर्षीय विकल्प राईलाई पक्राउ गरेको हो। उनले एक महिलासँग प्रेम सम्बन्धमा रहँदा खिचिएका तस्बिर र भिडियो टेलिग्राममार्फत सार्वजनिक गरी चरित्र हत्या गरेको प्रहरीको भनाइ छ। पीडित महिलाले दिएको उजुरीका आधारमा खटिएको टोलीले प्राविधिक अनुसन्धान र विश्लेषणपछि राईलाई कात्तिक १९ गते काठमाडौंको ठमेलस्थित पर्यटन मार्गबाट पक्राउ गरेको थियो।
त्यसैगरी सामाजिक सञ्जाल एक्समार्फत अश्लील भिडियो तथा तस्बिर सार्वजनिक गरिदिने धम्की दिने अर्का एक व्यक्ति पनि पक्राउ परेका छन्। सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–५ स्थायी घर भएका ३० वर्षीय सुजन पाण्डेलाई कात्तिक १९ गते नै काठमाडौंको तारकेश्वरबाट पक्राउ गरिएको हो। आफूसँग अश्लील भिडियो र तस्बिर रहेको भन्दै उनले पीडितलाई धम्काउने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरिएको छ। अदालतले अनुसन्धानका लागि राईलाई पाँच दिन र पाण्डेलाई चार दिनको म्याद दिएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले शुक्रबार जनाएको छ।
