प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पछिल्लो एक सातामा भएका कामको प्रगति विवरण सार्वजनिक गरेको छ। कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता हेमराज अर्यालले कार्यप्रगतिबारे जानकारी गराए।
यस अवधिमा प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन्। भेटमा प्रधानमन्त्री शाहले भोटेकोशी बाढीपछि भारतले पहिलो उद्धारकर्ताका रूपमा राहत सामग्री र उद्धार टोली पठाएकोमा आभार व्यक्त गरेका थिए।
यही कात्तिक १९ गते प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखहरूसँग मुलुकको शान्ति–सुरक्षाबारे ब्रिफिङ लिएका छन्। उनले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबलबीच समन्वय र सूचना आदानप्रदान अझ प्रभावकारी बनाउन तथा अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन निर्देशन दिएका छन्।
राष्ट्रिय नीति तथा दस्तावेज निर्माणलाई गुणस्तरीय बनाउन राजपत्राङ्कित प्रथम श्रेणीका कर्मचारीलाई नीति तर्जुमा, विश्लेषण र परीक्षणसम्बन्धी तीनदिने तालिम दिइएको छ। सूचनाको हकसम्बन्धी ऐनबमोजिम कार्यालयका शाखाहरूको त्रैमासिक विवरण पनि सार्वजनिक गरिएको छ।
मानवअधिकारका विषयमा सोलुखुम्बु र ओखलढुङ्गामा अनुगमन सम्पन्न भएको छ भने छैटौँ राष्ट्रिय मानवअधिकार कार्ययोजनाबारे विराटनगरमा अभिमुखीकरण गरिएको छ। स्टार्टअप नेपाल पोर्टलसम्बन्धी कार्यविधिको मस्यौदा तयार भएको छ भने व्यक्तिगत डाटा संरक्षण नीतिको मस्यौदामाथि पनि छलफल भएको छ।
यसैबीच लगानी बोर्डअन्तर्गत अरुण–३ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७७ प्रतिशतभन्दा बढी पुगेको छ। माथिल्लो कर्णाली, नार खोला, सानीभेरी–३ र बेतन कर्णाली आयोजनाका लगानी स्वीकृत भएका छन्।
