काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले पशुपन्छीसँगको आत्मीय सम्बन्ध नेपाली चाडपर्वहरूको एउटा सुन्दर पक्ष भएको बताएका छन् । यमपञ्चकको पहिलो दिन तथा काग तिहारको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले हाम्रा पर्वहरूले अन्य जीवहरूप्रतिको सम्मान र सहअस्तित्वको भावना जगाउने बताए ।
प्रधानमन्त्री शाहले यमराजको दूत मानिने कागलाई मीठा परिकार खुवाएर सम्मान गर्ने परम्पराको स्मरण गरेका छन् । घरको आँगनमा काग कराएमा शुभ सन्देशको प्रतीक्षा गर्ने र दही–भात दिएर यमराजसमक्ष शुभकामना पुर्याउने कामना गर्ने चलन रहेको उनले उल्लेख गरेका छन् । आधुनिक सञ्चारका साधन नभएको प्राचीन समयमा काग कराउँदा कतैबाट समाचार वा पाहुना आउँदैछन् भन्ने विश्वास गरिन्थ्यो ।
यमयातनाबाट मुक्तिका लागि परिवारका सदस्यका नाममा यम दीपदान गर्ने परम्पराबारे पनि उनले चर्चा गरेका छन् । हाम्रो संस्कृतिले यमराजलाई डरको प्रतीकका रूपमा मात्र नभई न्यायको प्रतीकका रूपमा बुझेको उनको भनाइ छ । यमराजले दुष्कर्म गर्नेलाई दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वास रहेको उनले बताए ।
आजै परेको धन्वन्तरी जयन्तीका अवसरमा प्रधानमन्त्रीले समुद्र मन्थनबाट अमृत कलश लिएर प्रकट भएका आयुर्वेदका प्रवर्तक तथा आरोग्यका देवता भगवान् धन्वन्तरीको स्मरण गर्दै सबैमा निरोगी जीवनको शुभकामना व्यक्त गरेका छन् ।
भोलि पर्ने कुकुर तिहारका अवसरमा मानव सभ्यताको विश्वासिलो र वफादार साथी कुकुरलाई मीठा परिकार खुवाएर पूजा गरिने उनले उल्लेख गरेका छन् । घरको रखवारी गर्नेदेखि विभिन्न अनुसन्धान र उद्धार कार्यमा समेत मानिसलाई साथ दिने कुकुरप्रतिको प्रेम र कृतज्ञता प्रकट गर्ने यो दिनले अन्य जीवहरूप्रतिको सहअस्तित्व र सद्भावलाई अझ प्रगाढ बनाउने उनको विश्वास छ ।
सत्य, न्याय र इमानदारीको बाटोमा अडिग रहेर समाजमा सुशासन र जनपक्षीय काम गर्ने प्रेरणा यी पर्वहरूले दिने प्रधानमन्त्री शाहले आफ्नो सन्देशमा बताएका छन् ।
