Sunday, November 8, 2026
Breaking
थाइल्यान्डबाट ल्याइएको गाँजासहित भारतीय यात्री विमानस्थलमा समातिए शिवाकोटी साइबर ब्युरोमा उपस्थित, सरकारले दबाब दिएर अनुसन्धान गराएको आरोप ऊर्जा क्षेत्रमा भोटेकोशी बाढीको असर : १ खर्ब ३२ अर्ब क्षति, पुनर्निर्माणमा २ खर्बभन्दा बढी लाग्ने बालुवाटारस्थित रेस्टुरेन्टमा छापा: जुवातास खेलिरहेका ९ जना नगदसहित पक्राउ वोलोंगोंगमा देउसी–भैलो: प्रवासी नेपालीले मनाए तिहारको रौनक माघ १ देखि पाँच लाखभन्दा बढीको कारोबार बैंकिङ माध्यमबाटै गर्नुपर्ने थाइल्यान्डबाट ल्याइएको गाँजासहित भारतीय यात्री विमानस्थलमा समातिए शिवाकोटी साइबर ब्युरोमा उपस्थित, सरकारले दबाब दिएर अनुसन्धान गराएको आरोप ऊर्जा क्षेत्रमा भोटेकोशी बाढीको असर : १ खर्ब ३२ अर्ब क्षति, पुनर्निर्माणमा २ खर्बभन्दा बढी लाग्ने बालुवाटारस्थित रेस्टुरेन्टमा छापा: जुवातास खेलिरहेका ९ जना नगदसहित पक्राउ वोलोंगोंगमा देउसी–भैलो: प्रवासी नेपालीले मनाए तिहारको रौनक माघ १ देखि पाँच लाखभन्दा बढीको कारोबार बैंकिङ माध्यमबाटै गर्नुपर्ने

Turunta Khabar

Fresh Nepali news — major stories rewritten in simple Nepali, updated throughout the day.

Home / समाचार

दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन खडक नगरपालिका, सेवा प्रवाह ठप्प

समाचार By

सप्तरी । सप्तरीको खडक नगरपालिका दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा चालु आर्थिक वर्षका विकास निर्माणका कामदेखि सामाजिक सुरक्षा भत्ता वितरणसम्म प्रभावित भएको छ ।

गत असोज ५ गते भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुढानीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव अजय बर्तौलालाई खडक नगरपालिकामा कामकाज गर्ने गरी सरुवा गरेको थियो । तर आफ्नो कार्यअवधि पूरा नभई कानुनविपरीत सरुवा गरिएको दाबी गर्दै बर्तौला सरुवा बदरको मागसहित असोज १४ गते प्रशासकीय अदालत पुगेका थिए ।

उनको निवेदनमाथि सुनुवाइ गर्दै अदालतका अध्यक्ष डा. टेकबहादुर घिमिरे र सदस्य नवलकिशोर यादवको इजलासले असोज १५ गते अन्तरकालीन आदेश जारी गरेको थियो । अदालतले दुवै पक्षबीच छलफल नभएसम्म मन्त्रालयको सरुवा निर्णय कार्यान्वयन नगर्न र यथास्थितिमा राख्न आदेश दिएको थियो भने बर्तौलालाई रमाना नदिनसमेत भनेको थियो । शुक्रबार सदस्य यादवको इजलासले उक्त आदेशलाई निरन्तरता दिएको छ । यससँगै खडकमा नयाँ प्रमुख प्रशासकीय अधिकृत कहिले आउने भन्ने अन्योल थपिएको छ ।

नगर प्रमुख जयप्रकाश चौधरीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सरुवा निर्णय भएको ४५ दिनभन्दा बढी बितिसक्दा पनि प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा हाजिर नभएको बताएका छन् । बर्तौला हाल पनि बुढानीलकण्ठ नगरपालिकामै कार्यरत छन् । अदालतको आदेशपछि मन्त्रालयले वैकल्पिक व्यवस्था नगर्दा नगरपालिका नेतृत्वविहीनजस्तै बनेको चौधरीको भनाइ छ ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाले पाउने त्रैमासिक सामाजिक सुरक्षा भत्ता निकासा तथा वितरण हुन सकेको छैन । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधा र प्रोत्साहन भत्ताको भुक्तानीसमेत रोकिएको नगरपालिकाले जनाएको छ ।

त्यस्तै चालु आर्थिक वर्षका विकास निर्माण योजनाको सम्झौता, बजेट अख्तियारी, निर्माण कार्यको बिल भुक्तानी तथा अत्यावश्यक सार्वजनिक खरिद प्रक्रिया प्रभावित भएको नगर प्रमुख चौधरीले विज्ञप्तिमा उल्लेख गरेका छन् । यस विषयमा मन्त्रालयलाई पटक–पटक मौखिक तथा लिखित जानकारी गराउँदा पनि समस्या समाधानका लागि पहल नभएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन् । तत्काल प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था गरी सेवा प्रवाह सुचारु गर्न उनले मन्त्रालयसँग माग गरेका छन् । यथाशीघ्र व्यवस्था नगरिए उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी मन्त्रालयले लिनुपर्ने उनको चेतावनी छ ।

मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टले भने खडक नगरपालिका असोजदेखि नै प्रमुख प्रशासकीय अधिकृतविहीन रहेको विषयमा आफूलाई जानकारी नभएको बताएका छन् । उनले समस्या समाधानका लागि सम्बन्धित महाशाखालाई जानकारी गराउने बताए । यसअघि खडकमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत उपसचिव हरेन्द्र श्रेष्ठको पनि मन्त्रालयले असोज ५ गते नै सरुवा गरेको थियो । श्रेष्ठ असोज १४ गते रमाना लिएर अन्यत्र गएपछि नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर हुन सकेका छैनन् ।

newsnepal

Join the discussion

Your email address will not be published. Required fields are marked *