काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न नेपाल आएका विश्व चर्चित खेलाडीहरूको उपस्थितिले नेपाली क्रिकेटसँगै देशको पर्यटन प्रवर्द्धनमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। अष्ट्रेलियाका डेविड वार्नरदेखि दक्षिण अफ्रिकाका डेविड मिलरसम्मका खेलाडीले नेपालको प्राकृतिक सुन्दरता र आतिथ्यको खुलेर प्रशंसा गरिरहेका छन्।
वार्नरले हालै हेलिकोप्टरमार्फत सगरमाथा आधार शिविर क्षेत्रको अवलोकन गरेका थिए। सगरमाथाको प्रत्यक्ष दृश्यबाट प्रभावित भएका उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्नो अनुभव सार्वजनिक गर्दै नेपालको प्राकृतिक सुन्दरताको प्रशंसा गरेका छन्। उनले सगरमाथा आफ्नै आँखाले देख्न पाउनुलाई अविश्वसनीय क्षण भनेका छन्।
वार्नरले अर्को भिडियोमार्फत नेपालीको आतिथ्य, दयालुपन र क्रिकेटप्रतिको अगाध मायाको पनि प्रशंसा गरेका छन्। पहिलोपटक नेपाल आएका उनी एनपिएलको तेस्रो संस्करणमा काठमाण्डु गोर्खाजबाट खेलिरहेका छन्। दुई खेल खेलिसकेका उनले ब्याटिङमा प्रभावशाली प्रदर्शन गरेका छन्।
त्यस्तै, दक्षिण अफ्रिकाका डेविड मिलर पनि नेपालको प्राकृतिक सुन्दरता र क्रिकेट वातावरणबाट प्रभावित भएका छन्। पहिलोपटक नेपाल आएका उनले आगामी दुईदेखि तीन साता नेपालमा बिताउन पाउँदा उत्साहित रहेको बताएका छन्। मिलर यस सिजनमा कर्णाली याक्सबाट खेलिरहेका छन् र आफ्नो पहिलो खेलमै अविजित ९३ रनको पारी खेलेका छन्।
बङ्गलादेशका अलराउन्डर शाकिब अल हसनले पनि नेपालका विभिन्न स्थान र गतिविधिसम्बन्धी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेका छन्। विदेशी खेलाडीको यस्तो गतिविधिले नेपाली क्रिकेटको अन्तरराष्ट्रिय पहिचान विस्तारसँगै पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्ने अपेक्षा गरिएको छ।
