काठमाडौँ । बार्सिलोनाले अर्जेन्टिनी स्ट्राइकर जुलियन अल्भारेजलाई भित्र्याउने योजना तत्कालका लागि थाँती राखेको छ । समर ट्रान्सफर विन्डो सकिएपछि आक्रमण लाइनको प्राथमिकता बदलिएसँगै क्याटालन क्लबले अल्भारेजको खोजी अघि नबढाउने निर्णय गरेको हो ।
स्पेनिस खेलकुद पत्रिका स्पोर्टका अनुसार अल्भारेज अब बार्सिलोनाको प्राथमिकताको सूचीमा छैनन् । क्लबभित्र आक्रमणमा थप ठूलो लगानी गर्नुपर्ने आवश्यकता नरहेको निष्कर्ष निकालिएको छ ।
यो निर्णयको पछाडि ब्राजिलियन विङ्गर राफिन्हाको उत्कृष्ट लय मुख्य कारण बनेको छ । सेन्टर फरवार्डको भूमिकामा खेलिरहेका राफिन्हाले २०२६–२७ को सिजनमा सबै प्रतियोगिता गरी १३ खेलमा १९ गोल र ३ असिस्ट दर्ता गरिसकेका छन् । हालै क्लबसँग सम्झौता नवीकरण गरेका उनको प्रदर्शनले महँगो मूल्यमा नयाँ स्ट्राइकर ल्याउनुपर्ने दबाब हटेको हो ।
त्यसैगरी, बार्सिलोनाले प्रिमियर लिग क्लब आर्सनलबाट स्ट्राइकर ग्याब्रियल जिससलाई तीन वर्षको सम्झौतामा भित्र्याइसकेको छ । जिससको आगमनले प्रशिक्षक हान्सी फ्लिकलाई अग्रपंक्तिमा अनुभवी विकल्प दिएको छ, जसले अल्भारेजको खोजीलाई पूर्ण रूपमा विस्थापित गरिदिएको छ ।
यस समरमा बार्सिलोनाले एट्लेटिको म्याड्रिडका फरवार्ड अल्भारेजलाई भित्र्याउन लामो समय प्रयास गरेको थियो । क्लबका अध्यक्ष जोन लापोर्टाले पनि अल्भारेजप्रति क्लबको चासो रहेको सार्वजनिक रूपमै पुष्टि गरेका थिए । तर एट्लेटिको म्याड्रिडले आफ्ना प्रमुख स्ट्राइकरलाई घरेलु लिगकै प्रतिद्वन्द्वी क्लबलाई नबेच्ने स्पष्ट अडान लिएपछि बार्सिलोना वैकल्पिक बाटो रोज्न बाध्य भएको थियो ।
अल्भारेजलाई अनुबन्ध गर्ने प्रयासले दुई क्लबबीच निकै तनाव उत्पन्न गराएको थियो । अर्कोतर्फ, २०२६ को विश्वकपका दौरान क्लब छाड्ने संकेत दिएपछि अल्भारेजले एट्लेटिको समर्थकहरूको कडा आलोचना खेप्नुपरेको थियो । पछि उनले क्लब र समर्थकहरूसँग सार्वजनिक माफी मागेपछि स्थिति सामान्य बनेको थियो ।
मैदानमा पनि अल्भारेजको यो सिजनको सुरुआत खासै सन्तोषजनक छैन । उनले हालसम्म ११ खेल खेल्दा मात्र २ गोल र २ असिस्ट गर्न सकेका छन् ।
बार्सिलोनाका खेलकुद निर्देशक डेकोले पनि यस विषयमा क्लबको धारणा स्पष्ट गरिसकेका छन् । गत सेप्टेम्बरमा उनले अल्भारेजको विषय अब विगत भइसकेको बताउँदै एट्लेटिकोले छलफल गर्न नचाहेका कारण आफूहरू अन्य विकल्पमा गएको बताएका थिए ।
हाल बार्सिलोनाले आफ्नो नम्बर ९ को आवश्यकता पूरा गरिसकेको छ भने राफिन्हाले उच्च स्तरको प्रदर्शन गरिरहेका छन् । यस्तो अवस्थामा भविष्यमा सरुवा बजार जति नै अप्रत्याशित भए पनि अल्भारेजलाई क्याम्प नोउ भित्र्याउने सम्भावना तत्काललाई अत्यन्तै न्यून देखिएको छ ।
