काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाण्डु गोर्खाजका अस्ट्रेलियाली ब्याटर डेभिड वार्नरले साविक विजेता लुम्बिनी लायन्सविरुद्ध अर्धशतक प्रहार गर्दै आफ्नो टोलीलाई बलियो सुरुआत दिलाएका छन् ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाण्डुका लागि वार्नरले ३३ बलमा ८ चौका र १ छक्कासहित ५२ रन बनाए । पहिलो पटक एनपीएल खेलिरहेका वार्नरले काठमाण्डुको जर्सीमा तेस्रो खेल खेल्दै पहिलो अर्धशतक पूरा गरेका हुन् ।
वार्नरसँगै ओपनिङमा आएका साहिल पटेलले पनि राम्रो साथ दिए । दुवैले पहिलो विकेटका लागि ९० रनको साझेदारी गरे । १० ओभरको खेल सकिँदा काठमाण्डुले कुनै विकेट नगुमाई ९० रन बनाएको थियो ।
वार्नरको आक्रामक ब्याटिङले गोर्खाजको इनिङ्सलाई सुरुदेखि नै गतिमा राख्यो । उनले लुम्बिनीका बलरहरूलाई मैदानका चारैतिर प्रहार गर्दै दर्शकलाई मनोरञ्जन दिए ।
यसअघि टस जितेर लुम्बिनीले फिल्डिङ रोजेको थियो । तर वार्नर र साहिलको साझेदारीले त्यो निर्णयलाई चुनौती दिँदै काठमाण्डुलाई ठूलो योगफलतर्फ अघि बढाएको छ ।
