वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आयोजित दीपावली समारोहमा दीप बालेर उज्यालोको पर्व मनाएका छन्। समारोहको सुरुवात ओभल अफिसमा भएको थियो, जहाँ राष्ट्रपतिले आफ्नै हातले दीप प्रज्वलन गरे।
कार्यक्रममा भारतका तर्फबाट अमेरिकाका लागि राजदूत विनय मोहन क्वात्रा उपस्थित थिए। त्यस्तै चर्चित सेफ विकास खन्ना, प्रविधि उद्यमी विशाल गोन्डल, आइबिएमका प्रमुख कार्यकारी अरविन्द कृष्ण, एफबिआई निर्देशक काश पटेल र राष्ट्रिय स्वास्थ्य संस्थानका निर्देशक जय भट्टाचार्य पनि सहभागी भए। विदेशमन्त्री मार्को रुबियो र सोसल सेक्युरिटी एडमिनिस्ट्रेसनका उपआयुक्त अर्जुन मोदी पनि उक्त निजी समारोहमा थिए।
समारोहकै क्रममा उद्यमी गोन्डलले राष्ट्रपति ट्रम्पलाई हनुमान चालिसाको एक प्रति उपहार दिए। उनले सामाजिक सञ्जाल एक्समा तस्बिरसहित यसको जानकारी दिएका छन्।
ह्वाइट हाउसमा दीपावली मनाउने चलन सन् २००३ मा सुरु भएको थियो। त्यतिबेला राष्ट्रपति जर्ज डब्ल्यू बुसको पालामा आइजनहावर एक्जुकेटिभ अफिस भवनमा कार्यक्रम हुन्थ्यो र भारतीय अमेरिकी समुदायका सदस्य तथा कूटनीतिज्ञ सहभागी हुन्थे। सन् २००९ मा राष्ट्रपति बाराक ओबामा इस्ट रुमको समारोहमा दीप बाल्ने पहिलो अमेरिकी राष्ट्रपति बनेका थिए।
