सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आफ्नो कार्यकालको सय दिन पूरा भएको अवसरमा सरकारको काम सन्तोषजनक रहेको बताएका छन्। नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलका नेता शाही साउन १२ गते नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।
शाहीले आफू ठूला घोषणा गरेर चर्चा बटुल्ने शैलीको नेता नभएको बताए। तथ्य हेर्दा पहिलो त्रैमासिकमा कानुन निर्माण, खर्च र राजस्व संकलन विगतको तुलनामा बढेको उनको दाबी छ। पदभार ग्रहण गर्दा वार्षिक नीति तथा कार्यक्रम र बजेट पारित भइसकेकाले नयाँ कार्यक्रम ल्याउने अवसर नपाएको उनले बताए। त्यसैले अघिल्लो सरकारले ल्याएको बजेट कार्यान्वयनमा चुस्तता ल्याउनु आफ्नो जिम्मेवारी भएको उनको भनाइ छ।
यस अवधिमा चारवटा ऐन स्वीकृत भएर प्रदेश सभामा पेस गर्न तयार भएको, छवटा कार्यविधि, दुईवटा निर्देशिका, दुईवटा नियमावली र एउटा शिक्षा नीति स्वीकृत भएको शाहीले जानकारी दिए। राजस्व संकलन यसअघि १३–१४ करोड रुपैयाँ हुने गरेकोमा अहिले झन्डै २५ करोड रुपैयाँ पुगेको उनको दाबी छ।
तर पहिलो त्रैमासिकसम्म विकास बजेट करिब चार प्रतिशत मात्र कार्यान्वयन भएको छ। मनसुनजन्य विपद्, जाजरकोटलगायतका स्थानमा बाढीपहिरो र प्राविधिक क्षेत्रमा २५ देखि ३० प्रतिशत कर्मचारी अभावलाई शाहीले यसको कारण बताए। लोकसेवा आयोगको प्रक्रिया डेढ वर्षदेखि रोकिएकाले प्राविधिक जनशक्ति अभाव कायमै रहेको उनको भनाइ छ।
दशौँ राष्ट्रिय खेलकुद मङ्सिर १६ देखि २७ गतेसम्म आयोजना गर्ने निर्णय भइसकेको र प्रदेश रङ्गशाला मङ्सिर १६ अगाडि नै हस्तान्तरण हुने शाहीले बताए। योजना आयोगमा उपाध्यक्ष नियुक्त भइसकेको र बाँकी दुई सदस्यको नियुक्ति प्रक्रियामा रहेको जानकारी दिँदै उनले एक–दुई महिनाभित्र स्वास्थ्य क्षेत्रमा देखिने परिवर्तन ल्याउने बताए।
कर्णालीमा करिब १९–२० वटा रुग्ण योजना रहेको उल्लेख गर्दै शाहीले ठेकेदारलाई विनाकारण म्याद नथपिने चेतावनी दिएको बताए। आवश्यक परेमा ठेक्का तोडिने भए पनि काम सम्पन्न गर्ने वातावरण बनाउनु नै सरकारको प्राथमिकता रहेको उनको भनाइ छ।
