कैलालीमा युवाहरूमाझ बढ्दै गएको लागुऔषध सेवन र झैझगडाको समस्या समाधान गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद केपी खनालले सुरक्षा निकायसँग छलफल गरेका छन्। निर्वाचन क्षेत्र पुगेका उनले लम्कीमा प्रहरी नेतृत्व र प्रमुख जिल्ला अधिकारीसँग भेटेर यस विषयमा विस्तृत कुराकानी गरे।
कम उमेरमै धेरै युवाहरू कुलतमा फस्दै गएको भन्दै सांसद खनालले यसले समाजमा गम्भीर असर पारिरहेको बताए। आफ्नै उमेरका साथीहरू पनि यस्तो कुलतमा परेको देख्दा सांसदका रूपमा केही कदम चाल्नुपर्ने महसुस भएको उनको भनाइ छ।
छलफलका क्रममा खनालले आफ्नो निर्वाचन क्षेत्रमा सुरक्षाकर्मीको संख्या अपुग रहेको बताए। सो समस्या समाधान गर्न आफ्नै पहलमा बजेटको व्यवस्थापन गरेर इलाका प्रहरी कार्यालय स्थापना गर्ने तयारी भइरहेको उनले जानकारी दिए। नयाँ कार्यालय सञ्चालनमा आएपछि क्षेत्रको सुरक्षा व्यवस्थामा सुधार आउने अपेक्षा गरिएको छ।
चाडपर्वको समयमा सुरक्षा संवेदनशीलता बढ्न सक्ने भएकाले त्यसलाई ध्यानमा राखेर अघि बढ्न उनले प्रहरीलाई आग्रह गरे। स्थानीय प्रशासनसँग समन्वय गरेर लागुऔषध नियन्त्रणका प्रयास अघि बढाउने उनको भनाइ छ।
सांसद खनालले लागुऔषधविरुद्धको अभियानमा स्थानीय समुदायको सहयोग पनि आवश्यक रहेको बताए। युवाहरूलाई कुलतबाट जोगाउन सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा पनि उनले जोड दिए।
