नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा अदालतले आफूहरूको पक्षमा न्याय दिने विश्वास व्यक्त गरेका छन्। शनिबार काठमाडौंमा कांग्रेसको इतर पक्षले आयोजना गरेको काठमाडौं जिल्ला अधिवेशनको उद्घाटन समारोहमा उनले आफूहरू नै पार्टीको आधिकारिक पक्ष भएको दाबी गर्दै अदालतबाट न्याय पाउने बताए।
देउवाले आधिकारिकताको विषयमा अर्को पक्षले ठूलो आर्थिक चलखेल गरेको आरोप लगाए। उनको भनाइमा पैसाको बलमा पार्टीको आधिकारिकता हत्याउने प्रयास भएको छ। पछिल्लो समय सार्वजनिक भएको इनाम सापकोटा प्रकरणले पनि त्यस्तो चलखेल भएको स्पष्ट देखिएको उनले बताए।
पूर्वसभापति देउवाले आगामी महाधिवेशनमा आफू सभापति पदमा उम्मेदवार नबन्ने पनि बताए। आफ्नो चाहना पार्टी बलियो बनाएर देशको सेवा गर्ने मात्रै रहेको उनले उल्लेख गरे। पार्टीबाट आफूले धेरै कुरा पाइसकेको भन्दै उनले अब सबैलाई समेटेर अघि बढ्ने धारणा राखे। नेतृत्वको होडभन्दा पार्टीको एकता र सुदृढीकरण नै आफ्नो प्राथमिकता भएको उनको भनाइ थियो।
जिल्ला अधिवेशनको उद्घाटनमा देउवाले पार्टीभित्रको विवादलाई कानुनी प्रक्रियाबाटै टुंग्याउने आफ्नो अडान दोहोर्याए। आधिकारिक पक्ष आफूहरू नै भएकाले अन्ततः न्याय पाउने उनले विश्वास व्यक्त गरे।
