काठमाडौँ — जीवित देवी कुमारीलाई मङ्गलबार राति हनुमानढोकास्थित तलेजु भवानीको विशेष दर्शन गराइएको छ। परम्परा अनुसार तान्त्रिक र वैदिक विधिबाट कुमारीलाई तलेजु भवानीको दर्शन गराइएको हो।
कुमारी घरका व्यवस्थापक गौतम शाक्यका अनुसार कुमारीलाई सुरक्षित रूपमा कुमारी घरबाट रथयात्रासहित तलेजु परिसरमा पुर्याइएको थियो। दर्शनका लागि देवी भवानीलाई मन्दिरबाट मूल चोकमा सारिएको थियो।
तलेजु भवानीको दर्शनबाट शक्ति आर्जन हुने धार्मिक विश्वास रहिआएको छ। हनुमानढोका दरबारको उत्तरतिर तीनतले प्यागोडा शैलीमा निर्माण गरिएको मन्दिरमा रहेको तलेजु भवानीलाई मल्ल राजाहरूले कुलदेवताका रूपमा मान्ने गरेको इतिहासमा उल्लेख छ।
जीवित देवी कुमारी काठमाडौँ उपत्यकाको प्राचीन धार्मिक–सांस्कृतिक परम्पराको जीवित प्रतीक मानिन्छिन्। हरेक वर्ष दसैँका अवसरमा कुमारीको रथयात्रा तथा विशेष दर्शनका कार्यक्रम आयोजना हुने गरेका छन्। यस पटकको दर्शन राति सम्पन्न भएको थियो।
