काठमाडौँ । तिहारले बोकेको मौलिक सन्देश र यसको सांस्कृतिक मूल्य नयाँ पुस्तासम्म पुर्याउनुपर्नेमा संस्कृतिविद्हरूले जोड दिएका छन् । धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन) ले तिहार तथा देउसी भैलोको सांस्कृतिक महत्त्वबारे आज यहाँ आयोजना गरेको अन्तरक्रियामा सहभागी संस्कृतिविद्हरूले तिहारका धार्मिक, सांस्कृतिक र सामाजिक पक्षको अध्ययन गरी त्यसको प्रचारप्रसार गर्नुपर्ने बताए ।
गुठी संस्थानका अध्यक्ष डा गोविन्द टण्डनले काग, कुकुर, गाई, गोरु, दाजुभाइ तथा दिदीबहिनीको पूजा गरिने तिहारले सबै प्राणी र पारिवारिक सम्बन्धको महत्त्व उजागर गर्ने बताए । यसको मौलिक पक्ष नयाँ पुस्तासम्म पुर्याउन सञ्चारमाध्यमले भूमिका खेल्नुपर्ने उनको भनाइ थियो ।
नेपाल संस्कृत विश्वविद्यालयका कुल सचिव प्रा डा नवराज कट्टेलले प्रकृति र सबै प्राणीप्रति सम्मान राख्न सिकाउने तिहारजस्ता पर्वको सन्देश पत्रकारितामार्फत प्रवाह गर्नुपर्ने बताए । यस्ता पर्वले सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृढ बनाउन योगदान गर्ने उनले उल्लेख गरे ।
पूर्वमन्त्री एवं संस्कृतिविद् डा कान्ता भट्टराईले काग, कुकुर, गाई र गोरुको महत्त्व नयाँ पुस्ताले बिर्सँदै गएको भन्दै तिहारको सांस्कृतिक सन्देश बुझाउनुपर्ने बताइन् । संस्कृतिविद् प्रा डा ध्रुवप्रसाद भट्टराईले कागलाई नैतिक शिक्षा र न्यायसँग जोडेर हेर्ने परम्परा रहेको उल्लेख गर्दै तिहारका विभिन्न सांस्कृतिक पक्षको खोज तथा व्याख्या आवश्यक रहेको बताए ।
रेक्जोनका अध्यक्ष पूर्णप्रसाद मिश्रले संस्थाले दोस्रो वर्ष पनि तिहार र देउसी भैलोको सांस्कृतिक महत्त्वबारे बहस आयोजना गरेको जानकारी दिए । यसैबिच, धार्मिक तथा सांस्कृतिक पत्रकारिताको संस्थागत विकासका लागि पुस्तकालय तथा स्रोत केन्द्र स्थापना गर्ने उद्देश्यले रेक्जोनले देउसीभैलो कार्यक्रम सुरु गरेको उपाध्यक्ष एवं कार्यक्रम संयोजक डा अलका लम्साल रेग्मीले जानकारी दिइन् ।
