बलिउडको बहुप्रतीक्षित फिल्म ‘रामायण’बाट नयाँ गीत सार्वजनिक भएको छ। दसैँको अवसर पारेर रिलिज गरिएको ‘रावण ताण्डव’ गीतमा अभिनेता यश रावणको अवतारमा देखिएका छन्। त्रिशूल र डमरु बोकेर ताण्डव नृत्य गरिरहेको उनको रूपले दर्शकको ध्यान खिचेको छ।
गीतमा रावणको क्रोध, शक्ति र भगवान् शिवप्रतिको भक्तिलाई सशक्त रूपमा प्रस्तुत गरिएको छ। शिवलाई प्रसन्न पार्न रावणले गरेको आराधनाका दृश्य गीतको आकर्षण बनेका छन्। नितेश तिवारीको निर्देशनमा बनेको यो फिल्मको कास्टिङ, भीएफएक्स र पोशाकलाई लिएर यसअघि मिश्रित टिप्पणी आइरहेका थिए। तर यस गीतमा यशको अभिनय, शारीरिक हाउभाउ र आक्रामक प्रस्तुतिको चौतर्फी प्रशंसा भइरहेको छ।
गीतको सङ्गीतमा अस्कर विजेता सङ्गीतकार हान्स जिमरसँगै एआर रहमानले काम गरेका छन्। स्वर विशाल ददलानीको छ भने शब्द डा. कुमार विश्वासले लेखेका हुन्। गीतका दृश्यमा प्रयोग गरिएको भीएफएक्सले पनि दर्शकलाई मोहित बनाएको छ।
‘रामायण’मा रणवीर कपुर राम, साई पल्लवी सीता र यश रावणको भूमिकामा छन्। सनी देओल हनुमान र रवि दुबे लक्ष्मणको भूमिकामा देखिनेछन्।
