भारतमा विद्युतीय अटो रिक्साको प्रयोगले तीव्र गति लिएको छ। त्यहाँ हरेक ९० सेकेन्डमा एउटा विद्युतीय अटो रिक्सा उत्पादन भइरहेको छ, जसले भारतलाई यस क्षेत्रको विश्वकै ठूलो बजार बनाएको छ। महिन्द्रा लास्ट माइल मोबिलिटीको कारखानामा कामदार र रोबोट मिलेर ब्याट्री जडान, प्यानल जोड्ने र पाङ्ग्रा हाल्ने काम गरिरहेका छन्।
गत सेप्टेम्बरमा भारतमा बिक्री भएका नयाँ तीनपाङ्ग्रे सवारी साधनमध्ये आधाभन्दा बढी विद्युतीय थिए। सोही अवधिमा बिक्री भएका कारमध्ये करिब ८.५ प्रतिशत र दुईपाङ्ग्रे सवारी साधनमध्ये ११.६ प्रतिशत मात्र विद्युतीय थिए।
कम्पनीका प्रमुख कार्यकारी सुमन मिश्राका अनुसार पछिल्लो पाँच वर्षमा विद्युतीय सवारीको बजार छ गुणाले बढेको छ। सरकारी अनुदान, गुणस्तरमा सुधार र सञ्चालन खर्चमा कमीले पछिल्ला दुई वर्षमा यसको प्रयोग झन् तीव्र भएको उनले बताए।
एक दशकअघि नयाँ दिल्लीमा ई–रिक्सा देखिन थाल्दा प्रायः पुराना साइकल रिक्सामा चिनियाँ ब्याट्री जडान गरिन्थ्यो। अहिले महिन्द्राजस्ता ठूला कम्पनीको प्रवेशसँगै यो क्षेत्र व्यवस्थित उद्योग बनेको छ। भारतका उत्तरी सहरमा रेलवे स्टेसन र व्यस्त बजारबाहिर विद्युतीय अटो रिक्सा सामान्य दृश्य भइसकेका छन्।
हैदराबादका ३१ वर्षीय चालक अफरोज आलमले यसै वर्ष पेट्रोल अटो छाडेर विद्युतीय सवारी अपनाए। उनका अनुसार ब्याट्री चार्जको खर्च कम भएकाले दैनिक सयौँ रुपैयाँ बचत भइरहेको छ, जसले सवारी किन्न लिएको ऋण तिर्न पनि सहज बनाएको छ। भारतीय थिङ्क ट्याङ्क सीईईडब्ल्यूको सन् २०२५ को अनुमानअनुसार पेट्रोलबाट चल्ने तीनपाङ्ग्रे सवारीको प्रतिकिलोमिटर सञ्चालन खर्च विद्युतीयको तुलनामा दोब्बरभन्दा बढी छ।
महिन्द्रा आगामी नोभेम्बर १७ मा मुम्बईमा बेलायतका राजकुमार विलियमबाट प्रदान गरिने अर्थसट पुरस्कारका १५ अन्तिम प्रतिस्पर्धीमध्ये एक हो।
तर चुनौती पनि छन्। चार्जिङ पूर्वाधार र पार्किङको अभावले विस्तारमा अवरोध पुर्याएको छ। विद्युतीय मोटरमा प्रयोग हुने दुर्लभ खनिजका चुम्बकको आपूर्तिमा चीनले लगाएको प्रतिबन्धले भारतीय उत्पादकलाई असर पारेको थियो। भारतले ब्याट्री सेलको स्वदेशी उत्पादन बढाउने प्रयास गरिरहेको छ, तर ठूलो हिस्सा अझै चीन र दक्षिण कोरियाबाट आयात हुन्छ।
